काठमाडौं १६ भदौ । गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसंग ५० हजार टन युरिया मल सापटी माग्ने भएको छ । मल पैंचो माग्न दुई देशका सरकार प्रमुखबीच नै छलफलको तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।‘नेपालका प्रधानमन्त्री छलफलका लागि तयार हुनुहुन्छ, बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समय मिलेको छैन,’ परराष्ट्र स्रोतले भन्यो । यसै साता छलफल गरेर मलको विषय टुंगोमा पुर्याउने गरी दुवै देशबाट कुटनीतिक पहल भएको मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्री घनश्याम भुसालको पहलमा ढाकास्थित नेपाली दूतावासमार्फत बंगलादेशको मल विभागसँग गरिएको छलफलमा सकारात्मक जवाफ पाएपछि दुई देशका सरकार प्रमुखबीच छलफलको कुरा अगाडि बढेको हो । बंगलादेशसंग १० लाख मेट्रिकटन मल मौज्दात रहेको छ । ५० हजार टन नेपाललाई पैँचो दिन बंगलादेश तयार भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।कात्तिकदेखि पुससम्म युरिया र डीएपी गरेर एक लाख २० हजार मेटिक टन मल नेपालमा आवश्यक हुने मन्त्रालयको अनुमान छ । तत्कालका लगि ५० हजार मेट्रिक टन बंगलादेशबाट ल्याइने र बाँकी पनि जोहो गर्दे जाने मन्त्रालयको तयारी छ ।
कृषि सामग्री लिमिटेडले ठेक्का लगाएको ठेकदारमार्फत तत्काल मल आउने अवस्था नदेखेपछि कृषिमन्त्री घनश्याम भूषालले एक महिना अघिदेखि सापटीमा मल माग्न छलफल थालेका थिए । दुई ठूला छिमेकी मुलक चीन र भारतसहित ओमन, रसिया, साउदी अरब, बंगलादेश लगायतका मुलुकसंग तत्काल नेपालको गर्जो टार्न छलफल गरे पनि बंगलादेश मात्रै मल दिन राजी भएको मन्त्रालय स्रोतले बतायो ।‘नेपालको आग्रह भारतले त सुन्दै सुनेन, चीनले मलको भाउ निकै महँगो भन्यो,’ मन्त्रालय अधिकारी भन्छन्, ‘चीनबाट ल्याउन सजिलो पनि थिएन, त्यसैले बंगलादेशमा पहल भयो । ‘
दुई ठेकदारलाई कारबाहीको तयारी
नेपालमा रसायनिक मल भित्र्याउन पहिलोपटक ठेक्का पाएर मल नल्याएका नेपाली ठेकेदारलाई क्षतिपूर्ति र भविष्यमासमेत अयोग्य हुनेगरी कारबाहीको तयारी मन्त्रालयले गरेको छ । ५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता गरेका ठेकेदार शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई भदौ २१ गते कारबाहीको निर्णय हुने स्रोतले बतायो ।‘सम्झौताको म्याद भदौ २० मा सकिन्छ, त्यसपछि धरौटी जफत गर्ने मात्रै नभई किसानले पाएको दुःख, कृषि उत्पादनमा आउने ह्रासको हिसाब जोडर क्षतिपूर्ति सहितको कारबाहीको तयारी गरेका छौँ,’ स्रोतले भन्यो ।
२५ हजार मेट्रिक टन युरियाका लागि २८ पुसमा र २५ हजार टनका लागि ४ माघमा गएकिो टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । असारे धानको रोपाईको लागि भदौ २० गतेसम्म सबै मल ल्याइपुर्याई सक्नुपर्नेमा ती कम्पनीले एक किलो मल पनि नेपाल भित्र्याउन सकेका छैनन् । अर्कोतर्फ उत्पादनकसँग मल किनेको वा नकिनेको भन्नेसम्मको जानकारी कृषि सामग्री कम्पनी लिमिटेडलाई दिन नसकेको कम्पनीले जनाएको छ ।
अनलाईन खबर
प्रतिक्रिया