ललितपुर १८ भदौँ । स्थानीय युवा र गुठियारले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि ललितपुरको पुल्चोकमा प्रहरी र युवाबीच झडप भएको छ । रथ तान्न थालेका युवाहरुलाई प्रहरीले रोकेपछि युवाहरुले त्यसको विरोध गरेका थिए । युवाहरुलाई हटाउन प्रहरीले पानीको फोहोरा हान्न थालेपछि युवाहरुले ढुङ्गामुढा गरेका छन् । युवाहरुलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । युवाहरुले रथ सडकको बीचमा लगेका छन् भने अहिले पनि तनाव भइरहेको छ । कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् ।
तर मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पु¥याइ सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले रथ तान्ने प्रयास गरेका हुन् । चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो ।त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले सुरु हुन सकेको छैन । रातो मछिन्द्रनाथका ज्योतिष कृतिमदन जोशीले स्थानीयले बारम्बार गरेको अनुरोधलाई प्रशासनले बेवास्ता गरेका कारण पुल्चोकमा तनाव सिर्जना भएको बताउनुभएको छ ।
युवाहरु रथ तान्न निस्किएपछि अहिले ललितपुर महानगरपालिकामा सरोकारवालाहरुको आपत्कालीन बैठक बसिरहेको छ । जसरी पनि रथ तान्नै पर्ने भएकोले त्यसको व्यवस्थापन स्थानीय प्रशासनले नगरेमा समस्या आउने ज्योतिष कृतिमदन जोशीले बताउनुभयो । उहाँले रथको प्राविधिक पक्ष जाँचको काम नै नभएकोले अहिलेलाई रोकेर तत्कालै व्यवस्थित रुपमा तान्ने व्यवस्था प्रशासनले गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया