रुपन्देही १९ भदौ । रुपन्देहीमा शुक्रवार एकैदिन ३ जनाको मृत्यू भएसंगै कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या १४ पुगेको छ। शुक्रवार सिद्धार्थनगरका ४५ वर्षिय पुरुष र ६५ वर्षिया महिला तथा बुटवलका ७८ वर्षिय पुरुषको मृत्यु भएको हो।मृतकको संख्या १४ पुगेसँगै कोरोना संक्रमणबाट मृत्यु हुने संख्याको आधारमा रुपन्देही प्रदेश ५ को पहिलो र मुलुकको चौथो जिल्ला भएको छ।
पर्सा, काठमाडौ र मोरङपछि रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु दर बढी देखिएको छ।कोरोना संक्रमणबाट पर्सामा ३८ जना, काठमाडौमा २६ जना र मोरङमा १८ जनाको मृत्यु भइसकेको छ। १४ जनाको मृत्यु हुनेमा रुपन्देहीसँगै प्रदेश २ को बारा जिल्ला पनि रहेको छ।
यसरी प्रदेश ५मा सबैभन्दा धेरै मृतक रुपन्देहीका हुनुका पछाडी प्रेसपाटीले गरेको विष्लेषणमा ५ कारण मुख्य रहेको पाइएको छ । रुपन्देहीको धेरै बस्तीको जनजीवन शहरी शैलीको हुनु , मुलुककै सबैभन्दा ब्यस्त हुने मध्येको सुनौली नाकावाट बेरोकटोक आवागमन भई रहनु , प्रदेश ५को अस्थायी राजधानी भएका कारण प्रदेशका १२ जिल्लाका मानिसहरु काम विशेषले रुपन्देहीमा आउने र फर्कन क्रम जारी रहनु , कोरोना संक्रमणका विरामीको प्रदेश कै उपचार केन्द्र रुपन्देही हुदा विभिन्न हिसावले संक्रमण विस्तार हुनु र धेरै अस्पताल रुपन्देही मै रहनुले अस्पताल संक्रमणका केन्द्रको रुपमा देखा पर्नु जस्ता ५ वटा कारणले रुपन्देही संक्रमण पश्चातको मृत्यूका घटना उच्च बनेका हुन् ।
मृत्यूका हिसावले रुपन्देही मुलुकमै रेडजोनमा परेकोछ । यस्तै सक्रिय संक्रमित ५ सय भन्दा बढी हुने १२ जिल्लामध्ये रुपन्देही पनि एक हो। रुपन्देहीको तथ्यांक अनुसार ६ सय २६ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। प्रदेश ५ मा कोरोना भाइरस संक्रमणबाट बाँकेमा पहिलो पटक २५ वर्षिय पुरुषको मृत्यु भएको थियो। उनको जेठ ४ गते नरैनापुर क्वारेन्टाइनमै मृत्यु भएको थियो। यससँगै बाँकेमा हालसम्म ६ जनाको मृत्यु भएको छ। प्रदेश ५ भरमा ३८ जनाले ज्यान गुमाइसकेका छन्।
यसमध्ये सबैभन्दा बढी रुपन्देहीमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले बताउनु भयो । त्यसपछि बाँके दोस्रो जिल्ला हो। त्यसैगरी कपिलवस्तुमा ४, गुल्मीमा ३ जनाको मृत्यु भएको छ।दाङ, पाल्पा, नवलपरासी पश्चिम, अर्घाखाँची, प्युठानका दुइ–दुइ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। बर्दियामा एक जनाको मृत्यु भएको छ। रोल्पा र रुकुममा शुक्रबारसम्म कुनै संक्रमितको मृत्यु भएको छैन।सक्रिय संक्रमितको प्रदेशभरमा रुपन्देहीको बढी छ। ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा प्रदेश भरमा रुपन्देही मात्र रहको छ।
पछिल्लो तथ्यांक अनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६ सय २६ रहेको छ। त्यसपछि बाँकेमा ३ सय ४९ रहेको छ। साउन मसान्तसम्म प्रदेश ५ मा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भइसक्दा रुपन्देहीमा अस्पतालमा मृत्यु भएका एक जना मात्र थिए। भदौअघि बाँके र गुल्मीमा ३–३ जना, कपिलवस्तु, अर्घाखाँची र दाङमा २–२ जना तथा पाल्पामा एक जनाको मृत्यु भएको थियो।तर भदौको पहिलो हप्तामै रुपन्देहीले प्रदेशका अरु जिल्लालाई उछिनेर मृत्युदरमा अगाडि आयो। भदौ लागेपछि मात्र रुपन्देहीमा १३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। मृत्यु भएका अधिकांशमा कोरोनाकै लक्षण अर्थात निमोनिया देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनु भयो ।
प्रतिक्रिया