तिलोत्तमा २५ भदौ ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । रोहिणी नदी नजिक झण्डै १९ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी नगरपालिकाले काम अघि बढाएको छ । औद्योगिक ग्रामको डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
पहिलो चरणको निर्माण कार्यको लागि रु दुई करोड ५२ लाख बजेटमध्ये रु एक करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ ।नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने बताउनुभयो ।यस्तै तिलोत्तमा नगरपालिकाको शहरी स्वास्थ्य केन्द्र भवनको शुक्रवार उद्घघाटन गरिएको छ भने अर्को स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । शहरी स्वास्थ्य केन्द्र भलबारीको भवन उद्घघाटन र करहिया स्वास्थ्यचौकी भवन शिलान्यास गरिएको हो ।
शहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा नं ८ को ज्योतिनगरमा निर्माण हुन थालेको छ । हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्यचौकी नभएका वडामा शहरी स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको छ । हालसम्म तिलोत्तमाका दश वडामा सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । बाँकी वडामा भवन निर्माण हुने प्रक्रियामा छन् ।
प्रतिक्रिया