रुपन्देही ३१ भदौ । तिलोत्तमा नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरणको शुल्क निर्धारण गरेको छ । गत शैक्षिक शत्रमा गरिएको शुल्कलाई आधार मानेर नगरपालिकाको नगर शिक्षा समितीले शुल्क निर्धारण गरेको हो । केही दिन अघि पत्राचार गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले स्थानीय तहलाई शुल्क निर्धारण गर्ने जिम्मा दिएको थियो ।तिलोत्तमा नगरपालिकाका नीजि स्कुलले मासिक शिक्षण शुल्कलाई आधार मानी ७५ प्रतिशत मात्रे शुल्क उठाउन स्वीकृती दिएको छ । तिलोत्तमा नगरपालिकामा ३९ वटा संस्थागत विद्यालय छन् । ति विद्यालयमा करिब २४ हजार विद्यार्थी छन् ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को दफा ३० मा भएको व्यवस्था अनुसार नगर शिक्षा समितिको बैठकले विद्यार्थीबाट उठाइने शुल्कको निर्धारण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्यले नगरपालिकाले निर्धारण गरेको शुल्क आषाढ महिनादेखि मात्रै विद्यालयहरुले लिन पाउने जानकारी दिए । उनका अनुसार बैकल्पिक सिकाइ क्रियाकलापमा सहभागी हुने विद्यार्थीबाट मात्रै विद्यालयले शुल्क लिन पाउनेछन् । त्यसमा अनलाइन कक्षाका साथै निर्देशिकामा उल्लेख भएका थप सहजीकरणका ४ वटा माध्यमहरु रहेका छन् ।
मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्क लगायतका शुल्कहरु सहज रुपमा विद्यालयमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित नभएसम्म लिन नपाइने आचार्यले बताए । तोकिएको भन्दा बढी शुल्क लिए र तोकिएको भन्दा अरु शिर्षकमा शुल्क उठाए त्यस्ता विद्यालयलाई कार्वाहीको दायरमा ल्याउने शिक्षा प्रमुख आचार्यले बताए ।
प्रतिक्रिया