पाल्पा १ असोज।तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।शंकास्पद लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको थियो । चार दिनअघि उनमा कोरोना पुष्टि भएको थियो । कलेजोको समेत बिरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलका विभिन्न अस्पतालका साथै भैरहवासम्म एम्बुलेन्समार्फत् लगिएको मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले बताए ।बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि मंगलबार उनलाई पुनस् तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ ।
कोरोना संक्रमित बिरामीलाई उपचार गर्न तोकेका अस्पतालले बिरामी राख्न नमान्दा बिरामीसँगै एम्बुलेन्स चालकले पीडा बेहोर्नु परेको थियो । मिसन अस्पतालले कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलको धागो कारखानास्थित कोभिड अस्पतालमा पठाएको थियो । धागो कारखानाले प्रादेशिक अस्पतालबाट प्रक्रिया पुर्याएर ल्याउन भन्यो । प्रादेशिकले बेड नभएको भन्दै राख्न मानेन ।एम्बुलेन्स चालकले भीम अस्पताल भैरहवा लिएर गए । त्यहाँ पनि राख्न बेड अभाव भएको जानकारी पाएपछि बुटवलको मुटु अस्पताल ल्याए । त्यहाँ पनि राख्न नमानेपछि पुनस् पाल्पा फिर्ता ल्याएको चालक सुरज खत्रीले बताए ।मिसन अस्पतालका प्रमुख व्यवस्थापक जीवन भट्टराईले कोरोना संक्रमित बिरामीको थप उपचार गर्नुपर्ने भएकाले पाल्पा अस्पतालको समन्वयमा बुटवल पठाएको बताए ।
प्रतिक्रिया