अर्थ-वाणिज्य

नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट प्रशोधन गरिने



इलाम, २ असोज । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ ।

          उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ ।    यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलैँचीलाई १००\१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैँचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।

     “हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैँचीको सानो दाना मिसाएर बनाउछौँ”, सञ्चालक भट्टराईले भन्नुभयो, “यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ । स्वदेशमा बढी निर्यात हुने सम्भावना छ ।”

    अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ ।  “एकैचोटि सबै अलैँची नेपालमा प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भव पनि छैन”, सञ्चालक भट्टराईले भन्नुभयो, “एउटा नमूना शुरुआत गरेको हो ।” भट्टराईका अनुसार उद्योगको नमूना प्रशोधनसमेत भइसकेको छ । उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ । 

    मुख्यगरी अलैँचीजन्य पदार्थको बजार नेपालमै केन्द्रित गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली मुलुक र अमेरिका हो । “हाम्रो उद्योगले हाल प्रमाणपत्र पनि लिइसकेको छ । बाहिरी देशको मापदण्डअनुसारकै भइसक्यो”, उहाँले भन्नुभयो । उद्योगले अहिले अलैँचीको मात्र प्रशोधन गर्ने छ । समयान्तरमा माग र दक्षजनशक्ति बढेमा अन्य वस्तुसँग अलैँची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ । यो उद्योगले मात्रै देशभर उत्पादित १५ प्रतिशत अलैँची प्रशोधन गर्न सकिने भट्टराईको जिकिर छ । स्वस्थकर चिज निर्माण हुने भएकाले उद्योगबाट प्रशोधित धेरै सामग्री नेपालमै खपत हुने भट्टराईको भनाइ छ । 

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६