काठमाण्डौ ४ भदौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने विषयमा छलफल गरेको छ ।आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको हो । स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको पनि उहाँले बताउनुभयो । मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । कसलाई पठाउने भन्ने विषयमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ ।
यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुने गरी बैठकमा छलफल भएको उहाँले बताउनुभयो । यो विषयमा निर्णय भने भएको छैन ।पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा सोमबार छलफल गरी निर्णय हुनेछ । यस्तै सङ्घीय सांसदहरुले कोभिडको अवधिको बैठक भत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो । बैठक सोमबार एक बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया