जीवनशैली

तीन महिनापछि ओली नेपालको वान टु वान संवादमा के भयो खास छलफल ?



काठमाडौं, ५ कार्तिक । स्थायी कमिटीका निर्णय कार्यान्वयनलाई लिएर पार्टीभित्र मतभेद सिर्जना भएकै वेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ समीकरणको प्रस्ताव गरेका छन् ।कर्णाली विवाद समाधानलाई लिएर भएको संवादमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मनमुटाव भएकै दिन प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव गरेका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा ओली र नेपाल समूह एकै ठाउँ थिए ।

‘    युद्धविराम’ को तहमा रहेको नेकपाभित्रको विवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले बल्झिने संकेत देखिएका वेला प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई मंगलबार भेटेर सम्बन्ध सुधार र सहकार्यको प्रस्ताव गरेका हुन् ।ओली–नेपालबीच करिब तीन महिनापछि प्रधानमन्त्रीनिवास बालुवाटारमा अढाई घन्टा लामो छलफल भएको हो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका वेला गत ९ साउनको राति भएको छलफलयता उनीहरूबीच एक्लाएक्लै छलफल भएको थिएन ।

   कर्णाली प्रदेशको विवाद समाधानबारे कार्यकारी अध्यक्ष प्रचण्डसँगको छलफललगत्तै ओली आफैँले टेलिफोन गरेर संवादका लागि नेपाललाई बालुवाटार बोलाएका थिए । भेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्मका अविश्वास हट्ने गरी मिलेर अघि बढ्ने गरी सम्बन्ध सुधारको प्रस्ताव गर्दै सरकारलाई सहयोग गर्न नेपाललाई आग्रह गरेका थिए । नेपालले भने पार्टी र सरकारलाई संस्थागत निर्णयको स्पिरिटका आधारमा सञ्चालन गर्नेबित्तिकै स्वतस्फुर्त विश्वासको वातावरण बन्ने जवाफ फर्काएका छन् ।

    ‘लामो समय भइसक्यो तपाईंसँग भेटघाट हुन सकेन, तपाईं पनि सम्पर्क गर्नुहुन्न, त्यसैले कुराकानी गरौँ, कतै कमजोरी छन् भने सच्याउने गरी अघि बढौँ भन्ने उद्देश्यले छलफल गर्न खोजेको हुँ,’ ओलीको भनाइ उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले भने, ‘छलफलबाट पार्टीमा समस्या छन् भने पनि हल गरौँ, संवादलाई निरन्तरता दिँदै अघि बढौँ ।’ सामान्यतः नेकपामा प्रचण्ड र नेपालबीच विभिन्न मुद्दामा सहकार्य हुँदै आएको छ । ओलीले सहकार्यको प्रस्ताव गरेर प्रचण्ड–नेपाल सहकार्य तोड्ने कोशिस गरेका छन् ।

  ओलीको यस्तो भनाइपछि नेपालले नबोलाइएको अवस्थामा विना काम हिँड्ने आफ्नो स्वभावै नभएकाले पार्टीको प्रतिष्ठा बढ्ने गरी आमनेता–कार्यकर्ता र जनता सन्तुष्ट हुने गरी सरकारले काम गर्न सकोस् भन्ने मात्र आफ्नो चाहना रहेको बताएका थिए ।‘म नबोलाईकन हिँड्ने मान्छे होइन, विनाकाम धाउने मेरो बानी छैन । त्यसैले नबोलाईकनै तपाईंकहाँ पाहुना हुने कुरा भएन । जनता खुसी हुन्, देश राम्ररी अगाडि बढोस्, सरकारले राम्रो काम गरोस्, पार्टीको प्रतिष्ठा बढोस् भन्ने मात्र मेरो चाहना हो,’ ओलीसँगको भेटमा नेपालको जवाफ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘साँच्चै सम्बन्ध सुधारभन्दा पनि खालि कसरी फकाउन सकिन्छ भन्ने कोणबाट मात्र प्रधानमन्त्रीले उहाँसँग अनेक प्रसंगका कुरा गर्नु भएछ ।’

  पार्टी र सरकारको नेतृत्वमा आफूलाई सहयोग गर्न ओलीले गरेको प्रस्तावमा नेपालले कडा प्रतिवाद गर्दै समस्यामाथि समस्या खडा गर्ने कार्यशैली तत्काल सच्याइएको अवस्थामा मात्र आफ्नो साथ रहने जवाफ फर्काएका थिए । ‘तपाईं जथाभावी राजनीतिक र अन्य नियुक्तिहरू गर्नुहुन्छ, अनि मेरो विश्वास जित्ने कुरा गर्नुहुन्छ ? पार्टीभित्र मापदण्ड लागू गर्नुहुन्न, वरिष्ठता, योग्यता र क्षमताको अवमूल्यन गर्दै अन्याय गर्नुहुन्छ अनि मैलेचाहिँ सहयोग र समर्थन गर्ने कुरा हुन्छ ? सबै समस्याको जड तपाईं नै हो, धेरै समस्या तपाईंबाटै खडा भएका छन्, त्यसैले पहिले आफ्नो कार्यशैली सच्याउनुस्, अनि मेरो सदैव साथ र सहयोग रहन्छ,’ नेपालको जवाफ उद्धृत गर्दै उनीनिकट एक नेताले भने ।

  नेकपाभित्र अध्यक्षद्वय ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालको मूलतः तीन समूह रहे पनि नेपालसँग भने प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँगको सम्बन्धमा समस्या बढेपछि मात्रै संवाद गरेर सम्बन्ध सुधारको प्रयास गर्दै आएका छन् । नेपाल निकट नेताहरू पनि प्रधानमन्त्री ओलीको बोलावट र चाहनाअनुसार भएको भेटमा उनले राखेको सम्बन्ध सुधारको प्रस्तावप्रति विश्वस्त देखिँदैनन् ।

     नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पनि प्रधानमन्त्री ओलीले असहज र अप्ठ्यारो स्थिति महसुस गरेपछि मात्र नेपालसँग संवाद अगाडि बढाउने गरेको बताए । ‘सहज वेलामा प्रधानमन्त्रीले माधव नेपालसँग कुराकानी गर्न आवश्यक नै ठान्नु हुन्न, यसबाहेक उहाँहरूको भेटघाट र कुराकानीबारे टिप्पणी गर्नु आवश्यक छैन,’ रिजालले भने ।पछिल्लो पटक प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा माग चर्किएसँगै अध्यक्ष प्रचण्डसँगको शक्तिसंघर्ष जटिल मोडतर्फ उन्मुख भएपछि प्रधानमन्त्री ओलीले नेपालसँग गोप्य भेटवार्ता गरेर भावी अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।९ साउनको भेटमा प्रधानमन्त्री ओलीले नेपाललाई महाधिवेशन आयोजक समितिको संयोजकसमेत बनाएर जान सकिने विषयमा सोच्न सकिनेसम्मको प्रस्ताव गरेको बाहिरिएको थियो ।

    बैठक सकिएको एक महिनाभन्दा धेरै भए पनि निर्णय कार्यान्वयनमा भने समस्या र विवाद देखिएको छ । पछिल्लो पटक कर्णाली प्रदेशको समस्या समाधानबारे प्रचण्डसँग मतान्तर देखिएपछि नेपाललाई बोलाएर ओलीले राखेको सम्बन्ध सुधारको प्रयासलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६