मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा वा शरीरभित्रको मेटावोलिजममा समस्या भएमा पत्थरी हुन सक्छ।कतिपय अवस्थामा पत्थरीको समस्या जन्मजात पनि हुन्छ । वंशाणुगत युरिक एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड भयो भने पनि मिर्गौैलामा पत्थरी हुने सम्भावना बढी हुन्छ । जन्मजात समस्या भएकामा शरीरले खाएको तत्वबाट निस्कने विकार वस्तुको मात्रा धेरै हुन्छ र पत्थरी बन्न जान्छ।संक्रमणका कारण क्षयरोग भयो भने मिर्गौलामा पत्थरी बन्ने प्रकृया सुरु हुन्छ । साना साना कण जम्मा भएर पिसाबमा भएको नुनको तत्व जम्मा भएर ढुङ्गा बन्न थाल्छ।
यसबाहेक हाम्रो खानपानको प्रकृयाबाट पनि पत्थरी हुन सक्छ । बदाम, गेडागुडी, गोलभेँडाजस्ता खानेकुराका कारण युरिक एसिड पत्थरी हुन्छ । साधारणतया मिर्गौलामा क्याल्सियम, अक्जालेट र युरिक एसिड पत्थरी भएको पाईन्छ।क्याल्सियम, फस्फोरसजस्ता तत्वहरु मानिसलाई आवश्यक भएपनि पत्थरी बन्ने प्रवृत्तिका कारण यिनले शरीरलाई नकारात्मक प्रभाव पार्छन् । हामीले दैनिक खाएको खानाबाट नै पत्थरी बनिरहेको हुन सक्छ । ढुङ्गा खाएर नै पत्थरी हुने होइन । धेरै बिरामीले ढुङ्गा खाएर नै पत्थरी बनेको भनेर सोच्ने गरेको पाईन्छ तर यसो होइन । हामीले खाएको खाना पचिसकेपछि उत्पन्न हुने बाइप्रोडक्ट के निस्कन्छ, त्यसको घनत्व हेरी ढुङ्गा बन्न सक्छ।
प्राय बिरामीले के खाँदा पत्थरी हुन्छ भन्ने प्रश्न गरेको पाईन्छ । हामीले खाएको सबै खानेकुराबाट पत्थरी बन्ने संभावना हुन्छ । पत्थरी नहोस् भन्नका लागि के–कस्तो गडबडी छ भन्ने कुरा पहिला थाहा पाउन जरुरी छ । जस्तै क्याल्सियमको कारण पत्थरी भएको छ भने क्याल्सियमजन्य तत्व कम गर्नु पर्छ । क्याल्सियमको मात्रा, युरिक एसिड, फस्फोरस, अक्जालेट, थाईराइड, प्याराथाइराइडको अवस्था कस्तो छ कारण हेरेर मात्र त्यो अनुसारको खानामा परहेज गर्नुपर्छ । मलाई पत्थरी भयो भनेर खाना बार्ने होइन।
प्रतिक्रिया