अर्थ-वाणिज्य

बोयर हब बन्दै अर्घाखाँची, साढे सात करोडको कारोबार



अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ११ डिभर्नाका कृषक गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ केजीको छ । उक्त बोका हेर्न आउने र बोका संग फोटा खिच्नेको पनि भीड बढेको छ । बोका हेर्न जिल्ला तथा बाहिरी जिल्लबाट मानिसहरु जाने गरेको बाख्रापालक कृषक बस्यालले बताए ।  बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने र पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँची सहितका जिल्लाहरुमा बोयर बाख्राको माग बढि रहेको छ । 

बाख्राको एक जात वोयर बाख्रा  हो । वोयर बाख्रा छिटो बढ्ने र धेरै मासु उत्पादन हुने जात अन्तर्गत पर्दछ । पछिल्लो समयमा अष्टेलियाबाट ल्याएर अर्घाखाँची सहितका जिल्लामा बोयर जातको बाख्रा स्रोत केन्द्रको रुपमा बाख्रा पालन हुदै आएको छ । छिटो शारीरिक वृद्धि, धेरै तौल हुने बोयर जातको बाख्रामा अरु जातको बाख्रामा भन्दा रोग प्रतिरोधात्मक क्षमता बढि हुने भएकोले किसानहरु बोयर जातको बाख्रा पालनमा आकर्षित भएका हुन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर ११ डिभर्ना बोयर जातका बाख्रा उत्पादन स्थल बनेको छ । मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रम अन्र्तगत जालकाँडा बाख्रापालन समूह सन्धिखर्क नगरपालिका डिर्भनाका किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेव्वर वृद्धि गरेका छन् ।

२०७३ सालको मंसीरमा अष्ट्रेलियाबाट प्रति बोका ३ लाखका दरले १५ वटा बोयर बोका ल्याएपछि बोयर जातको बाख्रा उत्पादनमा बृद्धि भएको हो । परम्परागत रुपमा पालिदै आएका खरी जातका बाख्राहरुमा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० केजी सम्मको मासु उत्पादन हुन थालेपछि अहिले बाख्रा पालन व्यवासाय झनै फस्टाउँदै गएको छ । 

 डिभर्नाका कृषकहरुले बोयर जातका बोकाको बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन । सन्धिखर्क नगरपालिका वाड नम्वर ११ डिभर्नामा कृषकहरुले बोयर जातका बोकाको क्रस गरेर जन्माएका  बोकार पाठीको बिक्रीबाट मात्र साढे सात करोडको कारोबार गरेका छन् । गाउँका सबैले अहिले बोयर बाख्रा पालेका छन् ।  यहाँ उत्पादित ३ महिनामा नै ३० किलो र वार्षिक  एक क्वीन्टलभन्दा बढी मासु हुने बोयर बाख्राहरु देसका ३६ जिल्लामा निर्यात गरेको जालकाँडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्यालले जानकारी दिए । 

यहाँ उत्पादन भएका बोयर बाख्रा काठमाण्डौ , नुवाकोट, सिनधुपाल्चोक , रुपन्देही, कपिलबस्तु, पाल्पा, प्युठान लगायतका ३६ जिल्लामा बिक्री गरेको अध्यक्ष बस्यालको भनाई छ । बाख्राहरु बिक्रीको लागि कुनै पनि समस्या छैन । कृषकहरु फोनमै कन्ट्याक्ट गरेर बोयर बाख्रा लगिरहेका छन् । सबै भन्दा बढी प्युठान जिल्लामा बोयर बोका र बाख्रा लगेको उनको भनाई छ । चितवन , रुपन्देही र काठमाण्डौका ठुला ठुला फर्महरुले पनि जालकाडा बाख्रापालन समुहबाट बाख्रा किनेर लगेका छन् । 

अर्घाखाँचीका ५ स्थानीय तहले पनि यहाँबाट बोयर बाख्रा किनेर कृषकहरुलाइ बितरण गरिरहेका छन् । सन्धिखर्क नगरपालिकाकाले ४० वटा बोयर बाख्रा बितरण गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । गत बर्ष पनि सन्धिखर्क नगरपालिकाले १२ वडाका १२ जना व्यवसायीक बाख्रापालक कृषकहरुलाई बोयर बोका वितरण गरेको थियो । स्थानीय जातका बाख्रामा बोयर बोका लगाएर मासु उत्पादन बृद्धि गर्ने उदेश्यले व्यवसयीक कृषकहरुलाई बोयर बोका हस्तान्तरण गरेको सन्धिखर्क नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताए ।  । बाख्रापालन ब्यबसायीक रुपमा गरि मनग्य आम्दानी लिन सकिने भएकाले यस तर्फ सबै कृषकहरु लाग्नु पर्ने उनको भनाई छ । 

भुमिकास्थान नगरपालिकाले २ सय ५०, छत्रदेव गाउँपालिकाले ५ सय , सितगंगा नगरपालिकामा १ सय ५० र मालारानी गाउँपालिकाले समेत १२ वटा बाख्रा जालकाडा बाख्रा पालन समुहबाट खरिद गरेर बाख्रापालक कृषकहरुलाई बितरण गरेका छन् । ज्युदो १ केजीको एक हजारको दरले बोका तथा बाख्राहरु बिक्री भएका छन । 

यहा रहेको एक बोका एक सय ७५ केजीको रहेको छ । किसानका लागि उन्नत बीउविजन कार्यक्रम अन्र्तगत सन्धिखर्क नगरपालिका वडा नम्वर ११ डिर्भनामा २०७३ सालमा  १३ वटा र २०७४ सालमा  ३ वटा बोयर जातको बोका वितरण गरिएको हो । जालकाँडा बाख्रापालन समूहका अध्यक्ष  बस्यालले भने, ‘ ७३ सालको  मंसिरबाट बोका पाएका थियौँ, गाउँका १ सय ५३ घरधुरी संलग्न रहेको समूहले अहिले १२ सय वाख्रापालन गर्दै आएका छन बोयर जातको बोका बाख्रालाई लगाई उत्पादनमा तेब्बर वृद्धि भएको छ ।

एउटा पाठा वा पाठी जन्मदा नै ४ देखि ५ किलोको हुन्छ, पहिलेको काठे बाख्रापालनमा १ वर्षमा २५ किलो हुन्थ्यो भने अहिले बोयर जातको बोका ल्याएपछि ३ महिनामा नै ३० किलाको हुन्छ ।’ उनले भने वार्षिक एक  बोकाको मासु एक क्वीन्टलभन्दा बढीको हुन्छ, बाख्राले पनि ३÷४ वटा पाठापाठी पाउँछ, बोकालाई छाडा नछोडी व्यवस्थित खोर बनाएर बाधेर राखिएको उनको भनाइ छ ।

डिभर्ना धारामाथी निवासी गिता भुसालको घरमा २ वटा मात्र माउ वाख्रा रहेका छन । तिनै दुइ माउ बाख्राका पाठापाठी बेचेर बार्षिक तीन लाख आम्दानी गर्न सफल भएकी छिन ।   तीन बर्षको अबधीमा दुइ वटा मात्र बाख्रा पालेकी डिभर्नाकी गिता भुसालले बोका र पाठी विक्रीबाट ७ लाख कमाउन सफल भएको बताइन । अहिले झण्डै २ लाखका पाठापाठी बिक्रीकालागि तयार रहेको उनको भनाइ छ ।   

यो आम्दानी अन्य ब्यबसायबाट प्राप्त गर्न कठिन परिश्रम गर्नुपर्छ । तर २ वटा बाख्राबाटै सजिलो माध्यमबाट मनग्य आम्दानी गर्न सफल हुदा उनी दंग छिन । धेरै पाल्नु पनि पर्दैन । दुख पनि छैन २ वाख्रालाइ स्याहार गरेकी छु  । सात लाख कमाए । उनले भनिन २ लाखका पाठापाठी तयार छन । गिता मात्र हैन डिभर्नाका कृषकहरुले बोयर जातका बोकाको बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन । 

   डिभर्नामा रहेको जालकाडा बाख्रा पालन समुहमा अहिले एक हजार २ सयको हाराहारीमा बाख्रा रहेका छन । तीन बर्ष अघि ल्याएका बोयर जातीको बोका अहिले एक हजार  भन्दा बढि  बाख्रामा लागेको छ । 

बोयर जातको बोका वितरण गरेसँगै सोही वडाका बासिन्दाहरु बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । सुरुवातको समय भए पनि सदस्यहरुसँग कम्तीमा तीनदेखि पैतिस वटासम्म बाख्रा रहेका छन् । अध्यक्ष बस्यालसँग मात्रै २५ वटा बाख्रा रहेका छन् । 

 मेहनतका साथ किसानले बाख्रापालेर मनग्य आम्दानी गरेकोमा बधाई दिंदै नगरपालिकालाइ बाख्रापालनमा नेपालकै नमुना बनाइने सन्धिखर्क नगरपालिका नगर प्रमुख कमलप्रसाद भुसालले बताए । पैसा यही छ, किन जानुपरो विदेश, उनले भने । मन्ग्य आम्दानी हुन्छ हजुरहरु मिहिनेत गर्नुस नगरपालिका सहयोग गर्न तयार छ । 

बोयर जातको बोका वितरण गरेसँगै सोही वडाका बासिन्दाहरु बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । अहिले सबैघरधुरीमा  कम्तीमा तीनदेखि पैतिस वटासम्म बाख्रा रहेका छन् । 

पाणिनि गाँउपालिकालाई  बोयर हवको रुपमा विकास गर्न प्रति बाख्रा औषत तीन लाखको लागतमा अष्ट्रेलियाबाट खरिद गरेर ल्याएका बोयर बाख्रा पाएपछि कृषकहरु अत्यन्तै हर्षित भएका छन  । 

गाँउपालिका भित्रका  किसान हरुलाइ ब्याबसायिक पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ बोयर बोका र बाख्रा वितरण गरिएको हो । अष्ट्रेलियाबाट शत प्रतिशत बोयर जातका बाख्रा खरिद गरेर ल्याइ स्रोत केन्द्रको रुपमा स्थापना गर्ने स्थानीय तह पाणिनि गाँउपालिका नेपालमै पहिलो हुन सफल भएको छ । 

अस्ट्रेलियाबाट ८० लाखको लागतमा  १६ पाठी र ८ वटा बोकाहरु खरिद गरेर ल्याइ शत प्रतिशत बोयर बोका र बाख्रा कृषकहरुलाइ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए  । बोयर बाख्राहरु हस्तान्तरण गर्दै गाउँपालिका गौतमले अबको ५ बर्ष भित्रमा गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताए  । 

प्रकाशित : १२ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६