काठमाडौ १४ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमाल दाहालबीच रोकिएको संवाद खुलाउन ४ नेताहरु लागिपरेका छन् । कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने क्रममा दुई अध्यक्षले छुट्टा छुट्टै पत्राचार गरेर विवाद झन् बल्झाएपछि संवाद टुटेको थियो ।उनीहरुबीच संवाद टुटेपछि बुधबार पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा विहिबार लुम्बिनी प्रदेशमा मूख्यमन्त्री शंकर पोखरेल दाहाल निवास खुमलटार पुगेर संवाद खुलाउने प्रयास गरेका थिए ।
यो अभियानमा कोरोनाका कारण होम आइसोलेशनमा रहेका जनार्जन शर्माको अप्रयक्ष साथ रहेको छ । प्रधानमन्त्री ओलीले गत मंगलबार कार्यकारी अध्यक्ष दाहालसँग संवादमा स्थानीय प्रदेश कमिटीलाई नै कर्णाली विवादका विषयमा निर्णय गर्ने जिम्मा दिन गरेको प्रस्ताव विपरीत अलग्गै चार वुँदे सहमति भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेपछि उता दाहालको सचिवालयले कुनै सहमति नभएको भनेर प्रेस नोट जारी गरी विवाद ज्यूका त्यू रहेको संकेत गरेको थियो ।
त्यसपछि कार्तिक ५ मा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्रचार गरेर गुलाबजंग शाहमाथिको कारवाही फिर्ता गर्न निर्देशन दिएका थिए । दाहालले पनि त्यसलाई काउण्टर दिने गरी विवाद समाधान प्रदेशबाट खोज्न कार्तिक ७ मा अर्को पत्र लेखेपछि भने दुई अध्यक्षवीच कटुता उत्पन्न भएको प्रष्ट देखिएको थियो । दुई अध्यक्षबीचको तिक्तताले पार्टी काम र सरकारी कामलाई समेत प्रभावित पारेपछि संवाद खुलाउन पार्टीकै ४ नेताहरु सक्रिए भएका हुन् ।
तर संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षबीच संवाद नटुटेको दावी गरेका छन्। उहाँहरुबीच कुराकानी भैरहेको छ संवाद टुटेको अवस्था होइन’, उनले भने ‘जनार्दन शर्मालाई कोरोना संक्रमण भएपछि उहाँ पनि आइसोलेशनमा बस्नु भएको हो त्यो विषयमा प्रधानमन्त्रीलाई सहित जानकारी थियो यसलाई हामी संवाद टुटेको भन्छौ भने गलत हुन्छ ।’ संसदीय दलका उपनेता नेम्वाङले बुधबार मात्रै दाहाललाई भेटेर आएका थिए ।
बुधबार पार्टी महासचिव पौडेलले केन्द्रीय कमिटीको बैठक एक महिना पर सार्ने विषयमा छलफल गर्न खुमलटार पुगेका थिए । उनी खुमलटार जानु अघि वालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटघाट गरी खुमलटार गएर दाहालको स्वीकृति लिएर केन्द्रीय कमिटीको बैठक एक महिना पर सार्ने सूचना जारी गर्न लगाएका थिए ।त्यसक्रममा उनले दुइअध्यक्षबीचको संवाद सुचारु गर्न र पार्टी कामलाई निरन्तर रुपमा अघि बढाउन दुवै अध्यक्षलाई आग्रह गरेका थिए । पौडेल खुमलटारबाट निस्केपछि संसदीय दलका उपनेता नेम्वाङ खुमलटार पुगेका थिए ।उनले पनि दुई अध्यक्षबीच संवाद सुचारु गरेर स्थायी कमिटीको बैठकले पास गरेको निर्णय अनुसार पार्टी अघि बढ्नु पर्ने बताए थिए । ‘दुवै अध्यक्षबीच केही दिनमै भेटघाट हुन्छ यसमा अन्यथा मान्नु पर्दैन’, उपनेता नेम्वाङले भने ।
कर्णाली प्रदेशको विवाद समाधान गर्नका लागि काठमाडौ आएका नेताहरुसँग प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका थिए । ‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो ।समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ । उहाँले त्यसो गर्नुभएन’, भन्दै दाहालले बेग्लै पार्टी सञ्चालन गरेको आभाष दिएको आरोप लगाएपछि दाहाल ओलीसँग चिढिएका थिए ।
दाहालले कर्णालीका नेताहरूसँग बेग्ला बेग्लै छलफल गरेका थिए । दाहालले बेग्लाबेग्लै खुमलटारमा बोलाएर भेटेको र गुटबन्दी गर्न खोजेको भन्दै ओलीले चित्त दुखाएपछि दुवै अध्यक्ष संवादबाट टाढा भएका थिए । दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने असन्तुष्ट भएका थिए ।दसैं अघिबाटै दुई अध्यक्षमा बोलचाल समेत बन्द भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि काठमाडौ आएर सक्रिय भएका छन् । उनी विहिबार खुमलटार पुगेर दाहालसँग भेटघाट गरेका थिए । उनीहरुबीच के के विषयमा कुराकानी भयो भन्नेबारेमा केही जानकारी नआए पनि पोखरेलले दुई अध्यक्षबीच संवाद खुलाउने प्रयास गरेका छन् ।
दाहालसँग सम्बन्ध विग्रेपछि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दुई पटक भेटघाट गरेका छन् । उनीहरुबीच एक्लाएक्लै संवाद भएको छ । कार्तिक ४ गते र कार्तिक ११ गते उनीहरुबीच वालुवाटारमा संवाद भएको हो । तर यो विषयमा नेपाल निकट नेताहरुले ओलीलाई संकट परेपछि मात्रै नेपाललाई खोज्ने गरेका दावी गरेका छन् ।उनीहरुले ओलीको यस्तो बानी पुरानै भएकाले यस्ता भेटको कुनै अर्थ नहुने दावी गरेका छन् । ‘ओलीलाई संकट पर्यो भने माधव नेपाललाई बोलाएर फकाउने प्रयास गर्छन तर नेपालले उठाउँदै आएको विधि र पद्धतिलाई कार्यान्वयन गर्दैनन् त्यसकारण यस्ता भेटको कुनै अर्थ छैन’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने ।








प्रतिक्रिया