बुटवल १५ कार्तिक ।सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको अस्पतालको लापर्बाहीका कारण मृत्यु भएको दाबी आफन्तले गरेका छन । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ घर भइ हाल रुपन्देहीमै बस्ने गीता पुरी बिहीबार दिउँसो अस्पताल भर्ना भएकी थिइन । उनको बिहीबारै साँझ मृत्यु भएको हो । गर्भमा रहेको शिशुको समेत मृत्यु भएको छ ।
१३ गते बिहीबार बच्चा जन्मने अन्तिम मिति भन्दै डाक्टरले ती महिलालाई अस्पताल बोलाएका थिए । अस्पताल भर्ना भएपछि बिहीबार बिहान ११ बजे नै उनलाई व्यथा लाग्ने औषधि दिइएको थियो । चिकित्सकहरुले दिउँसो ४ बजेसम्म पनि बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य भएको बताएका थिए । गीताले पनि आफन्तसंगको फोनमा दिउँसो स्वस्थ्य अवस्था सामान्य रहेको बताएकी थिइन । तर एक्कासी साँझ ७ बजेतिर बच्चाको मृत्यु भएको खबर अस्पतालले गीताका आफन्तलाई सुनाए । राती ९ बजेतिर गीताको पनि मृत्यु भएको जानकारी चिकित्सले आफन्तलाई गराएका थिए ।
अस्पतालमै कार्यरत एक जना स्वास्थ्यकर्मीका अनुसार साढे ५ बजेतिर पेटमै बच्चाको मृत्यु भएको थियो। त्यो खबर सुनेपछि गिताले आफूलाई निकै गाह्रो भएको भन्दै छिटो अप्रेसन गरीदिन आग्रह गरेकी थिइन । झण्डै एक डेढ घण्टासम्म पीडाले छटपटिँदा पनि गीतालाई अप्रेसनका लागि नलगिएको ती स्वास्थ्यकर्मीले बताए । गीताका आफन्तले पनि बच्चाको पेटमै मृत्यु भएपछि अत्याधिक पीडाले छटपटिँदा तत्कालै अप्रेसन नगरी घण्टौं त्यसै राखिदा आमाको समेत ज्यान गएको दाबी गरेका छन ।
यता अस्पतालको लापर्बाहीका कारण आमा र बच्चाको ज्यान गएको भएको भन्दै मृतकका आफन्तले शुक्रबार दिउँसोसम्म शव बुझेका थिएनन् । तर निश्पक्ष छानविन र उचित क्षतिपुर्तिका लागि कात्तिक २० गते वार्ता गरी निर्णय गर्ने अस्पताल प्रशासनले लिखित सहमती गरेपछि शव बुझ्ने तयारी भइरहेको मृतकका आफन्त कमलराज गिरीले बताउनुभयो ।
प्रतिक्रिया