अर्घाखाँची १६ असोज । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रजिअ विक्रम थापा र सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण देखिएको छ ।सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिका–१२ को कोठिया मैदानका पहिरोपीडितलाई राहत वितरण गरेर फर्केपछि ज्वरो र रुघाखोकी लागेका प्रजिअ पौडेलको बिहीबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । स्वाब परीक्षणका लागि कोभिड–१९ परीक्षण प्रयोगशाला गुल्मी पठाइएको थियो । सहायक प्रजिअ थापालाई भने अहिलेसम्म लक्षण देखिएको छैन ।दुई दिनसम्म पहिरोस्थल भुजुंगे र कोठिया मैदानमा स्थलगत अनुगमन गरेकोमा राहत वितरण गरेको दिनबाटै ज्वरो, रुघाखोकी र शरीर दुख्ने समस्या देखिएपछि पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको पौडेलले बताए । अहिले पौडेल र थापा दुवै जना होम आइसोलेसनमा छन् ।
अर्का सहायक प्रजिअ विनोद खनाल लगायत कर्मचारीले सामाजिक दूरी कायम गरेर जिल्ला प्रशासनको काम निरन्तर राख्ने थापाले बताए ।यता कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा प्रदेश ५ सरकारले थप १० करोड रुपैयाँ निकासा गर्ने भएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि आवश्यक परेको भन्दै थप रकम निकासा दिने निर्णय गरेको हो । प्रदेश सरकारले चैत पहिलो साता १० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो । कोष सञ्चालन गर्न सामाजिक विकासमन्त्री सुदर्शन बरालको अध्यक्षतामा ५ सदस्यीय समिति छ । कोषमा प्रदेशका कर्मचारी, प्रदेशसभा सदस्य र विभिन्न संघ संस्थाले रकम जम्मा गरेका छन् ।
सामाजिक विकासमन्त्री बरालका अनुसार उक्त कोषमा अहिलेसम्म करिब २३ करोड जम्मा भएको छ । त्यसमध्ये २० करोड रुपैयाँ कोरोना विशेष अस्पतालमा खर्च गरिएको उनले बताए । प्रदेशमा चारवटा कोरोना विशेष अस्पताल छन् ।मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया, गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने र गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरूको यस वर्ष पनि दरबन्दी स्वीकृत गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
त्यसोत रुपन्देहीमा शुक्रबार ७७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २ हजार ७७९ पुगेको छ। जसमध्ये ७३५ जना सक्रिय छन । शुक्रबार थपिएकामध्ये २५ जना महिला हुन् भने ५२ जना पुरुष हुन । अनुसार सबैभन्दा धेरै बुटवलमा १४ जना महिला र ३० जना पुरुष गरी ४४ जना, सिद्धार्थनगरमा १ जना महिला र ३ जना पुरुष गरी ४ जना, तिलोत्तमामा ७ जना महिला र १३ जना पुरुष गरी २० जना, देवदहमा २ जना महिला र १ जना पुरुष गरी ३ जना, सैनामैनामा १ जना महिला, सुद्धोधनमा १ जना पुरुष, कञ्जनमा २ जना पुरुष र सियारीमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका फोकल पर्शन केदार शाहले जानकारी दिए । रुपन्देहीमा शुक्रबारसम्म २५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रतिक्रिया