काठमाण्डौ १८ असोज । स्वास्थ्य समस्या भएका राष्ट्रिय खेलाडीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले आर्थिक सहयोग गरेको छ । कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्वराष्ट्रिय खेलाडीलाई उपचार खर्चस्वरुप ४ लाख रुपैयाँ सहयोग गरेको हो । कोषले एथ्लेटिक्स, बास्केटबल, जुडो र कबड्डीका चार खेलाडीलाई आइतबार सहयोगस्वरुप चार लाख रुपैयाँ प्रदान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले एथ्लेटिक्सका पूर्वराष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई एक लाख रुपैयाँ, बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनिषा विष्टलाई ७५ हजार रुपैयाँको चेक दिनुभएको हो। क्यान्सर रोगबाट पीडित राईको गएको साउन १९ गते निधन भएको थियो । सहयोग रकम राईकी पत्नी मन्जु श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । यस्तै घुँडाको समस्या भएका खड्का, आलोक र विष्टले अहिले फिजियोथेरापी गराउँदै आएका छन् ।
१८ आश्विन २०७७, आइतबार
प्रतिक्रिया