कपिलवस्तु २३ असोज ।केहिदिन यता भालुवाङ देश विदेशमा सबैभन्दा धेरै चर्चामा रहेको ठाउ हुन पुगेको छ । वर्षैंदेखि पुर्जा विहीन भालुबाङलाई प्रदेशको स्थायी राजधानीको परिकल्पना गर्दा बेला बेला चर्चामा आएपनि राजधानी भै हाल्छ भन्ने पत्यार धेरैलाई थिएन ।तर एकाएक प्रदेश ५को भर्जिन राजधानीका रुपमा यो क्षेत्र उदयमान भएको छ । भनिन्छ बगेको खोला १२ बर्षमा फर्कन्छ । तर भाग्य फर्कन कतिलाग्छ ? अहिले सम्म स्पष्ट छैन । पछिल्लो घटनालाई इतिहास संग जोडेर हेर्दा भालुवाङको भाग्य भने १०० वर्षपछि फर्किएको छ ।
दाङको देउखुरी उपत्यकामा पर्ने भालुबाङ एक सय दुई वर्षअघि प्रशासनिक शक्तिकेन्द्र रहेको समाचार यस अघि नै सार्वजनिक भएको छ । यहावाट दाङ मात्र नभई बाँकेसम्मको सरकारी प्रशासनिक शासन व्यवस्था सञ्चालन हुने गरेको दाङको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक सुदीप गौतम बताउनु भएको छ । वि सं. १९६५ मा दाङ, देउखुरी र बाँकेको सुनार (अहिलेको राप्ती सोनारी गाउँपालिका) हेर्ने गरी सरकारी अड्डा स्थापना भएको थियो । ‘त्यतिवेला भालुबाङ क्षेत्रको देवीकोटमा सरकारी अड्डा हुलाक र अमिनी –अदालत) स्थापना भएको थियो ।त्यतिवेला १० वर्षसम्म प्रशासनिक केन्द्रको रूपमा रहेको भालुबाङ १९७५ सम्म रहेको थियो ।पछि माल अड्डा अहिलेको घोराही उपमहानगरपालिका ५ सर्रिकोटमा सरेपछि भालुवाङ सुनसान बनेको थियो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा मजदुरहरूले त्रिपाल टाँगेर बस्ती विकास भएको ‘अस्थायी भालुबाङ’ को चिन्तन एउटा मात्रै थियो ‘स्थायी लालपुर्जा’। लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ भूमी मंगलबार भाग्यमानी सावित भयो।त्यो भाग्यमानि त्यसै बनेको होइन त्यसकालागि बुटवलमा आफू सवार गाडीमा ढुंगामुढा प्रहार भएर सामान्य घाइते हुदा समेत प्रतिकृया विहिन बनेर सहन सक्ने मुख्यमन्त्री शंकर पोखरेलको भूमिका राजधानी बन्नकालागि सर्वाेपरीछ । आफ्नै पार्टीका महासचिव बिष्णु पौडेलको तीव्र असन्तुष्टि बीच पार्टीका अध्यक्ष द्वेय (ओली प्रचण्ड ) वाट राजधानी कहाँ भन्ने लेखाएर ल्याउने काम गर्नु मुख्यमन्त्रीको अभूतपूर्व चलाखी र प्रभावकारी कदम हुन पुगेको छ । त्यसकै आधारमा सांसदलाई ह्वीप जारी गर्ने कामले नै राजधानी भालुवाङ बन्नमा मुख्य भूमिका खेलेको छ । यसैले आध्यात्मीक शैलीमा हेर्दा भालुवाङको प्रमुख भाग्य विधाता मुख्य मन्त्री पोखरेल नै हुनुहुन्छ ।
अर्काेतर्फ उहा एक्लै कस्सीएर मात्रै सहजै निर्णय हुन गाह्रो पर्न सक्थ्यो । तर रुपन्देहीवासीले अपेक्षा गरेभन्दा भिन्दै भूमिकामा प्रस्तुत भएर भालुवाङको भाग्य चम्काउन लागि पर्ने नेताका रुपमा प्रदेश ५ नेकपा संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकाल देखा पर्नु भयो । उहाँ अर्काे एक भाग्य विधाता हो । उहाले मुख्य मन्त्रीलाई दह्रो गरि दिएको साथले नै निर्णय हुन सकेकोमा मत भिन्नता नहोला । त्यसपछि भालुवाङको भाग्य विधाताकै सूचीमा नेकपाका केन्द्रिय नेता र रुपन्देही इन्चार्ज समेत रहनु भएका उद्योग तथा पर्यटन मन्त्री लिला गिरीको नाम आउछ । उहाले आफ्नो राजनीति दाउमा राखेर दाङको पक्षमा रुपन्देहीको आवाज नवोली साधेको मौनताले राजधानी भालुवाङ गएकोहो ।
त्यतिमात्र होइन नेकपाका केन्द्रिय नेता एवम भौतिक योजना मन्त्री बैजनाथ चौधरीले आफ्ना प्रारम्भीक असन्तुष्टिका वावजुद मुख्यमन्त्री पोखरेललाई सहजता ल्याउने गरी रुपन्देहीलाई आर्थिक राजधानीको प्रस्ताव राखेर दिएको साथले भालुवाङले राजधानी पाएको हो । यी सबै परिबेश एकातिर महत्वपूर्ण छन् अर्कातिर प्रादेशिक राजधानीको प्रमुख केन्द्र बनेको भालुबाङले पाएको यो अमूल्य स्थान उसकै लागि आफैमा ‘अकल्पनीय’ अवसरका रुपमा देखापरेको छ । आफ्नो बस्तीको लालपुर्जासम्म पाउन नसकेको भालुबाङले प्रादेशिक राजधानी पाउला भन्ने त कल्पनाभन्दा बाहिरको कुरा थियो,’ तर भाग्य विधाताले बनाईदिएपछि नपत्याएर के गर्ने ? स्थानीय ताराबहादुर डाँगीले यो अनुपम उपहार भालुबाङका लागि भाग्य विधाताले जुराईदिएको अवसर जस्तै लागेको तर्क गर्नु भयो ।
‘दाङ उपत्यका दक्षिण एशियाकै ठूलो उपत्यका रहेकाले राधजानी भइहाले पनि घोराहीमा हुन्छ भन्ने दाङवासीको मनोविज्ञान रहेका बखत भालुवाङको भाग्य खुलेको हो । तर भालुवाङ आफैमा प्रदेशको केन्द्र भाग हो भन्नेमा भने कुनै शंका छैन । प्रदेश राजधानी तोकिएको दाङको राप्ती गाउँपालिकाअन्तर्गत पर्ने भालुबाङ, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिका क्षेत्र भौगोलिक हिसाबले पनि प्रदेशको केन्द्रमा रहेको छ ।
राप्ती नदी किनारमा रहेको यो पूर्व पश्चिम राजमार्गसँगै जोडिएको छ । रोल्पा —प्युठान जोड्ने सडकमार्ग पनि यही क्षेत्र भएर जान्छ । भालुबाङ पुग्न अस्थायी राजधानी रहेको रुपन्देहीको पूर्वी सिमाना सुनवलबाट एक सय १८ किलोमिटरको दूरीमा छ । त्यस्तै, पाल्पाबाट एक सय ४४, गुल्मीबाट प्युठान हुँदै एक सय ६६ र बुटवल हुँदै दुई सय नौ, नवलपरासी पश्चिमबाट एक सय ६५, रुकुम पूर्वबाट दुई सय १५, बर्दियाबाट दुई सय ७७, प्युठानबाट ६८, रोल्पाबाट एक सय सात र बाँकेको नेपालगन्जबाट एक सय ९२ किलोमिटरको दूरीमा रहेको छ। त्यसो त मगर (खाम) भाषामा ‘बालुङबाङ अर्थात बा भनेको गुड्ने, लुङ भनेको ढुंगा र बाङ भनेको चौरवाट अप्रभंस भएर भालुवाङ बनेको किम्वदन्ति छ । सोही अनुसारको स्थान यतिबेला लुम्विनी प्रदेशको भर्जिन राजधानी बन्न पुगेकोछ ।
प्रतिक्रिया