काठमाडौं २६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका छन् र कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।अध्यक्ष प्रचण्डले भने त्यसलाई रोक्नुपर्ने बताएका छन् । ‘अविश्वासको प्रस्ताव दर्ता हुने, मुख्यमन्त्री हट्ने कुराले राम्रो सन्देश जाँदैन’, प्रचण्डको आग्रह उदृत गर्दै बैठक स्रोतले भन्यो ।बिहान खुमलटारमा भएको भेटमा प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि यस्तै भाषामा आग्रह गरेका थिए ।
नेता नेपालले भने आफ्ना पक्षका सांसदहरुलाई तत्काल अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिएको जवाफ दिएका थिए । नेता नेपालले आइतबार नै कर्णाली प्रदेशका नेता र सांसदहरुलाई फोन गरेर निर्देशन दिएको बताएका थिए ।प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावबारे ठोस जवाफ नदिएको प्रचण्ड निकट स्रोतले बतायो ।आइतबार नेकपाकै १८ सांसदले मुख्यमन्त्रीशाही विरुद्ध अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा बुझाएका छन् । ४० सदस्यीय प्रदेशसभामा नेकपासँग ३३ सांसद छन् । ३३ मध्ये पूर्व माओवादीका १३, ओली खेमाका १२ र नेता नेपाल खेमाका आठ सांसद छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली तर्फका आठ, नेता नेपाल तर्फका सात सांसद र पूर्व माओवादीका तीन सांसद छन् ।
प्रतिक्रिया