काठमाडौं २८ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित पार्टीका प्रदेश कमिटीका पदाधिकारी बुधबार काठमाडौ आउने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीका विरुद्ध पेश भएको अविस्वास प्रस्तावलाई लिएर विवाद चर्किएपछि छलफलका लागि उनीहरु काठमाडौं आउन लागेका हुन्।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा उनीहरुलाई काठमाडौं बोलाएर छलफल गर्ने सहमति गरेका थिए। मुख्यमन्त्री शाहीसहित आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसमेत आउन लागेका छन्।
यस्तै प्रदेशका सह–इन्चार्ज एवंं प्रदेश सभा सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मासमेत काठमाडौं आउने भएका छन्। प्रदेशका इन्चार्ज जनार्दन शर्मा भने काठमाडौमै छन्। अध्यक्षद्वय ओली तथा प्रचण्डले बिहीबार मुख्यमन्त्रीसहित प्रदेशका इन्चार्जं, सह–इन्चार्ज, अध्यक्ष र सचिवसँग मुख्यमन्त्रीविरुद्धको अविस्वास प्रदेश र प्रदेश समस्याका विषयमा छलफल गर्ने भएका छन् ।मुख्यमन्त्री शाहीविरुद्ध गत आइतबार नेकपाका १८ सांसदले अविस्वास प्रस्ताव ल्याएका थिए। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री शाहीलाई सघाएपछि अविस्वास प्रस्ताव असफल भएको छ। मुख्यमन्त्री शाहीले निलम्बन गरेका गुलाबजंग शाहीले बोलाएको दलको बैठकमा मंगलबार अविस्वास प्रस्ताव ल्याउने १८ मध्ये जम्मा ११ जनामात्रै सहभागी भएका थिए ।
प्रतिक्रिया