ब्रेकिंग न्युज

कोरोनाका कारण सीमित ठाउँमा मूर्ति स्थापना



परासी २ कार्तिक । बडा दशैँको शुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा दुर्गा भवानीका मूर्ति जथाभावी स्थापना कार्यलाई नियन्त्रण गरिने भएको छ । विगत वर्षमा जस्तो टोलटोलमा नभई सीमित ठाउँमा मात्रै मूर्ति स्थापना गरी पूजाको तयारी गरिएको छ ।कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले चोक चोकमा मूर्ति स्थापना गरेर भीडभाड गर्न रोक लगाएको छ । नेपाल–भारत सीमा बन्द हुँदा यस पटक भारतबाट मूर्ति आयात गरिएको छैन ।

        जिल्लामा मूर्तिको अभाव देखिएको छ ।नवलपरासीलगायत तराईका जिल्लामा घटस्थापनादेखि नै विभिन्न चोक र टोलमा अस्थायी रुपमा दुर्गा भवानीका माटोका मूर्ति स्थापना गरेर सामूहिक रुपमा नवरात्रभर पूजाअर्चना गर्ने गरिन्छ । बिहान र साँझ पूजाअर्चना गरिनाका साथै दिनभर भजन बजाउने गरिन्छ । नेपालमा दक्ष कालिगड अभावका कारण बर्षेनी भारतबाट सयौँ मूर्ति आयत गरिँदै आएको छ । 

      यस पटक भारतबाट मूर्ति आयात गर्न नपाउँदा नेपालका कालिगडले बनाएका मूर्ति धमाधम बिक्री भइरहेका छन् । कोरोना भाइरसको जोखिमका कारण भारतबाट कालिगड ल्याएर थोरै मात्रामा मूर्ति निर्माण गरिएको पाल्हीनन्दन गाउँपालिका–५ का रामप्यारे मौर्यले बताउनुभयो । विगत १५ वर्षदेखि मूर्ति बनाउने पेसामा संलग्न मौर्यले दुई वर्षयता भने आफ्नै घरमा कालिगड मगाएर मूर्ति बनाउँदै आउनुभएको छ ।

     मूर्ति बेचेरै वार्षिक रु चार लाख बचत हुने गरेको उहाँ बताउनुहुन्छ । चार स्थानीय कालिगड राखेर गत जेठदेखि नै मूर्ति बनाउन शुरु गरेको मौर्यको भनाइ छ । उहाँले भन्नुभयो, “एक सेट मूर्ति रु २० हजारदेखि रु ४० हजारसम्ममा बिक्री हुन्छ ।,” बनाएका मूर्ति सबै बिक्री भएकाले अन्य धेरै ठाउँबाट आएका ग्राहकलाई फर्काउनु परेको उहाँले बताउनुभयो । 

         यस्तै पाल्हीनन्दन–१ का अनिल कोंहारलाई पनि अहिले मूर्ति बेच्न भ्याइनभ्याई छ । पहिला भारतबाट आयात गरिने सस्तो मूर्तिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेकामा अहिले आफूले बनाएका मूर्ति धमाधम बिक्री भइरहेको उहाँ बताउनुहुन्छ ।“यस वर्ष मैले ३५ मूर्ति बनाएको थिएँ, सबै बिक्री भयो” उहाँले भन्नुभयो । मूर्ति बेचेर उहाँले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । चार वर्षदेखि उहाँले घरमै मूर्ति बनाउँदै आउनुभएको छ ।

        यसैगरी मूर्तिको माग बढ्दै गएपछि पाल्हीनन्दन–५ का धर्मेन्द्र हरिजनले गत वर्षदेखि आफै मूर्ति बनाउन थाल्नुभएको छ । मूर्ति बनाउन आवश्यक माटो, बाँस तथा सजावटका सामान ल्याइ घरमा एक्लै मूर्ति बनाएर बेच्ने गरेको उहाँले बताउनुभयो । गत वर्ष पाँच मूर्ति बनाउँदा सबै बिक्री भएपछि अहिले ११ मूर्ति बनाएको हरिजनले बताउनुभयो । थोरै लागतमा मनग्य आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । पश्चिम नवलपरासीको हकुई, विष्णुपुरा, गेरमा, महेशपुर बड्की सुनरी, बेलाटारी, गुठिप्रसौनीलगायत स्थानमा व्यावसायिक रुपमा मूर्ति निर्माण गरिँदै आएको छ । 

प्रकाशित : २ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६