दाङ १६ कार्तिक । गाउगाउमा सिंहदरवार भनियो ७ सय बढी पालिकाका स्थानीय सिंहदरवार गाउगाउ मै खुले । तर यसपाली लुम्बिनी प्रदेशमा सिंहदरवार एक शिक्षालय मै खुल्ने तयारी छ । प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानको तयारी भइरहेको छ । यो बैठकलाई ‘ऐतिहासिक’ बनाउन मुख्यमन्त्रीको कार्यालय र संसद सचिवालय गृहकार्यमा जुटेका छन् । स्थायी राजधानी दाङ देउखुरीमा तिहारलगत्तै प्रदेशसभाको पहिलो बैठक बसाल्ने तयारी उनीहरुको छ ।यही तयारीअनुसार सभामुख पूर्णबहादुर घर्ती नेतृत्वको टोलीले दाङ देउखुरीका भौतिक पूर्वाधारको अवस्थाबारे शुक्रबार स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीको औपचारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन ।
तर अनुगमन टोलीका सदस्य एवम् प्रदेशसभा सदस्य इन्द्रजित चौधरी भने दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयलाई प्रमुख प्रशासनिक केन्द्र बनाउन सकिने र प्रदेशको हिउँदे अधिवेशनको बैठक पनि बसाल्न सकिने निष्कर्ष निकालिएको बताउँछन् ।
सिटिइभिटीका प्राविधिक विषयहरु पढाइ हुने राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिकाको मौरीघाटमा छ । १६ बिघा जग्गामा फैलिएको राप्ती प्राविधिक शिक्षालय परिसरमा तीन सय जना अटाउने सभा हल र साना–ठूला ३५ वटा भवनहरु छन् । यीनै संरचनाहरु प्रयोग गर्दै संसद बैठक बसाल्ने प्रदेश सरकारको योजना छ ।
हालसम्म अस्थायी राजधानी रुपन्देहीको बुटवलबाट प्रदेश सरकार र संसद सन्चालन हुँदै आएको छ । गत २० असोजमा बसेको प्रदेशसभाको बैठकले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । त्यसलगत्तै स्थगित संसद बैठक हालसम्म बसेको छैन ।आगामी हिउँदे अधिवेशन आह्वानको तयारी भइरहेको बेला शुक्रबार सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसी नेतृत्वको टोलीले राप्ती प्राविधिक शिक्षालयको स्थलगत अवलोकन गरेको छ । साथै स्थानीय पालिकाका प्रमुख र व्यवस्थापन समितिसँग छलफल पनि गरेको छ ।
अनुगमन टोलीमा रहेका दाङका प्रदेशसभा सांसद इन्द्रजित चौधरीका अनुसार राप्ती प्राविधिक शिक्षालयको व्यवस्थापन समिति सम्पूर्ण संरचनाहरु उपलब्ध गराउन तयार छ । चौधरीले भने, ‘सबै भवनहरु उपलब्ध भएमा यसैलाई सिंहदरबारजस्तै प्रशासनिक केन्द्र बनाउन सकिन्छ, संसद बैठक पनि बसाउन सकिन्छ भनेर अनुगमन टोलीले निष्कर्ष निकालेको छ । राप्ती प्राविधिक शिक्षालयको सन्चालक समितिका सरहरुले पनि हामी उपलब्ध गराउन तयार छौं । बाँकी प्रक्रिया माथि नै मिलाउनुस् भन्नुभएको छ ।’चौधरीका अनुसार अब सभामुख र आन्तरिक मामिला मन्त्रीसहितको टोलीले मुख्यमन्त्री शंकर पोखरेललाई ब्रिफिङ गर्ने छ । त्यसपछि शिक्षा मन्त्रालयलगायतका निकायमा आवश्यक प्रक्रिया मिलाइने प्रदेशसभा सदस्य चौधरीले बताए ।
छलफलमा सहभागी दाङका प्रमुख जिल्ला अधिकारी एवम् राप्ती प्राविधिक शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष जय नारायण आचार्यले प्रदेश सरकारले प्रयोग गर्न चाहे यहाँका सबै संरचना उपलब्ध गराउन सकिने बताए । ‘हिउँदे अधिवेशनको बैठक बसाल्न सकिन्छ, हामी यी संरचना दिन सक्छौं, के कति संरचना चाहिन्छ निर्देशन भएमा सोही अनुसार गर्छौं,’ प्रजिअ आचार्यले भने । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिने विकल्पबारे पनि सोच्न उनले सभामुख घर्ती नेतृत्वको टोलीलाई सुझाव दिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी सन्चालनका लागि आवश्यक सबै जिम्मेवारी बहन गर्न आफूहरु तयारी अवस्थामा बसेको जानकारी दिए । उनले प्रदेश मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, संसद भवन, दलका कार्यालयहरु बनाउन सुरक्षित र व्यवस्थित ठाउँ राप्ती प्राविधिक शिक्षालयबाहेक अरु नभएको बताए ।यतिमत्र होइन पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको मौरीघाटमा २०५० सालमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा हाल ११ सय विद्यार्थीहरुले बिभिन्न प्राविधिक विषय पढिरहेका छन् । त्यहाँ सिटिइभिटीअन्तर्गतका आईएससीएजी, जेटिए, सबओभरसियर, सिएमए लगायतका पढाइ हुनुका साथै छोटो समयको प्लम्बिङ, मोटरसाइकल मर्मत, हाउस वायरिङ लगायतका तालिम दिइन्छ ।
यहाँ प्रदेश राजधानीको प्रशासनिक केन्द्र बनेमा राप्ती प्राविधिक शिक्षालय अन्यत्र सार्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा उपयुक्त निर्णय गर्ने अनुगमन टोलीमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बताए । उनले भने, ‘हामीले शिक्षालयको अध्ययन गर्यौं अब मुख्यमन्त्री ज्यूलाई ब्रिफिङ गर्छौं र उपयुक्त निर्णय गर्छौं ।’
मौरीघाटमा सन्चालित राप्ती प्राविधिक शिक्षालय हाल राप्ती गाउँपालिकाकै लालमटियास्थित आदर्श उच्च मावि वा गढवा गाउँपालिकाको गोबरडिहास्थित सरस्वती उच्च माविमा सार्ने विकल्प छ । सरस्वती उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष यमनारायण पोख्रेल ‘विश्वास’ले राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहामा ल्याउने पहल भइरहेको जानकारी दिए । उनले भने, ‘राप्ती प्राविधिक शिक्षालय सन्चालनका लागि हामीसँग भवनहरु र जग्गा पर्याप्त छ । यहाँ विद्यार्थीहरुको पढाइमा असर नपर्ने गरी टेक्निकल स्कुल सन्चालन गर्न सकिन्छ । यदि थप आवश्यक पर्यो भने पनि सम्पूर्ण रुपले सहयोग गर्न हामी तयार छौं ।’
प्रदेशसभा र सरकारको टोलीले मंगलबार सरस्वती उच्च माविको टोलीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।यता २०१७ सालमा स्थापना भएको सरस्वती उच्च माविमा हाल १३ सय विद्यार्थीहरु छन् । विद्यालयको आफ्नै जग्गामा निर्मित ५० कोठाका आधा दर्जन भवनहरु छन् । पुरानो १८ कोठे एउटा पुरानो भवनलाई हालै सबलीकरण गरिएको छ । त्यसबाहेक १२, ८, ४ र २ कोठे अरु भवनहरु पनि छन् । उच्च मावि सन्चालन भएपछि अलग सन्चालन गरिएको प्रावि कक्षाको भवन पनि छ ।
कम्प्युटर ल्याब, साइन्स ल्याब, कृषिका टनेल, पोखरीलगायतका संरचनाहरु पनि निर्माण गरिएको छ । करिब १८ बिघाको सिङ्गै प्लट जग्गा पनि सरस्वती उच्च माविसँग छ ।यदि राप्ती प्राविधिक शिक्षालय आएमा सरस्वती उच्च मावि गोबरडिहामा पढ्दै आएका विद्यार्थीहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने प्रश्न आउँछ । जनप्रतिनिधिहरुले त्यसको विकल्प पनि सोचिसकेका छन् ।साविकको गोबरडिहा गाविसको धैरेनी घर भएका लुम्बिनी प्रदेशसभा सांसद इन्द्रजित चौधरी नजिकका विद्यालयहरुमा विद्यार्थीहरुको व्यवस्थापन गर्न सकिने बताउँछन् । उनले भने, ‘केही विद्यार्थीहरु गोबरडिहामै रहेको रात्री प्राविमा, केही पर्सेनी माविमा र केही अरु छेउछाउँका स्कुलहरुमा ब्यवस्थापन गर्न सकिन्छ । यसो गर्दा गोबरडिहाको रात्री स्कुललाई माविमा स्तरोन्नती गर्ने विकल्प पनि सोचिएको छ ।’
प्रतिक्रिया