कपिलवस्तु १६ कार्तिक । धन कमाउन विदेश गएका श्रीमानलाई स्वदेश फर्काउने अठोट लिएकी कपिलवस्तुकी उषाको सपना पूरा हुदै छ । बाणगंगा नन्दनगरकी ३२ बर्षिय उषा अर्यालले तिन बर्ष अघि एउटा भैसी पालनबाट सुरु गरेको पशु ब्यवसाय यतिबेला फस्टाउदै गएको छ । अहिले गोठमा २८ वटा गाई,भैसी छन् । ढेड लाखबाट सुरु भएको व्यवसायमा अहिले १५ लाखको लगानी छ । स्थानिय सहकारीमा दुधको माग रहेकाले दुध बिक्री गर्न समस्या नभएको अर्याल बताउनुहुन्छ । दुधको बिक्रीबाटै मासिक ७० हजार आम्दानी हुने गरेको उहाँको भनाई छ ।
अहिले स्थानिय एक जना महिलालाई सहयोगीको रुपमामा राख्नुभएको छ । ढेड बिगाहा जग्गामा घास खेती गनुभएको छ भने १ कठ्ठा जग्गामा तिहार लक्षित सयपत्री फुलको समेत खेती गर्नुभएको छ । गत बर्ष ५ हजारको लगानीमा खेती गर्नुभएकी अर्यालले ५० हजार बढिको फुल र माला बिक्री गरेको बताउनुहुन्छ । त्यस्तै यस बर्ष ४५ हजारको लगानीमा गरिएको खेतीबाट करिब ढेड लाखको कारोबार गर्ने लक्ष्य रहेको अर्यालको भनाई छ । यसबर्ष कोरोनाले असर गर्ने हो की भन्ने लागेको छ । उहाँले भन्नुभयो ।

