कार्तिक १६जनकपुरधाम। कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि रामअवतारकी बुहारी मनिषाको खुट्टामा घाउ भएको थियो । घाउ लामो समयसम्म निको नभएपछि आमाले नै बोक्सी लगाएर घाउ बनाएको आरोप उनले लगाए ।
उनले यो आरोप मात्रै लगाएनन्, निर्घात कुटपिट गर्दै दिसा खुवाउने प्रयाससमेत गरे । ‘दिसा खुवाउनै लाग्दा पुगेको प्रहरी टोलीले बचाएको थियो,’ सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले भने ।
रामअवतारलाई प्रहरीले पक्राउ गरिसकेको छ । शुक्रबार नै प्रहरीको नियन्त्रणमा आएका उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेकाले ज्यान मुद्दा दर्ता हुने शर्माले बताए ।
सुदामाका दुई छोराहरुमध्ये दुवै अलग्गिएपछि आमा एक्लै बस्दै आएकी थिइन् । गत बुधबार कान्छो छोरा रामअवतारको कुटाइबाट सुदामा घाइते भइन् ।
तत्कालै उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । डाक्टरहरुले उनको घाँटीको हड्डी नै बाँगिएको र यो उमेरमा उपचार हुन नसक्ने भन्दै दुई दिनपछि घर फर्काइदिएका थिए ।शनिबार उनको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया