सुर्खेत १६ कार्तिक । आइतबार कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ । आइतबारै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी भए पनि अहिलेसम्मको छलफललाई हेर्दा आज पुनर्गठनको सम्भावना नभएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस संयोजक ध्रुव बुढाथोकीले जानकारी दिनुभयो ।उहाँका अनुसार मन्त्रिमण्डल पुनर्गठनका लागि मुख्यमन्त्री शाहीले केन्द्रसँग पनि छलफल गरिरहनुभएको छ ।
‘मन्त्रिमण्डल हेरफेर हुन्छ, तर आजै हुने सम्भावना भने छैन’, उहाँले भन्नुभयो ।स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ । चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई नयाँ मन्त्रीका रुपमा जिम्मेवारी दिने तयारी छ ।कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पनि सरकारबाट बाहिरिने सङ्केत गर्नुभएको छ । उहाँले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै विवाद बढेको हो ।
प्रतिक्रिया