एजेन्सी १७ कार्तिक। इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । कोरोना जितेर फर्किएपछि पहिलो खेलमै रोनाल्डो चम्किएका हुन् ।यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे । घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए ।खेलको १६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३२ औं मिनेटमा स्पेजियाका पोबेगाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । परिवर्तित खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डो चम्किए ।खेलको ५६ औं मिनेटमा पाउल डिबालाको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ५९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए ।६८ औं मिनेटमा एड्रियनले गोल गर्दै युभेन्ट्सको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ७७ औं मिनेटमा पेनाल्टीबाट रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४९१ को जित दिलाए ।
कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन् ।करिब ३ साता मैदान बाहिर रहेका रोनाल्डोले ४ खेल गुमाएका थिए । जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ । स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ । सिरी ’ए’ अन्तर्गत नै अर्को खेलमा लाजियोले टोरिनोलाई ४–३ गोल अन्तरले पराजित गरेको छ ।
प्रतिक्रिया