काठमाडौं, १८ कार्तिक । काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चमा निःशुल्क खाना वितरण कार्य रोकेको छ ।सडकमै खाना खुवाउँदा ‘बेइज्जत’ र फोहोरको समस्या बढेको भन्दै महानगरले कोरोना महामारीका कारण समस्यामा पर्दै आएका विपन्न, असहाय र अशक्तलाई निःशुल्क खाना खुवाउने अभियानमा रोक लगाएको हो ।
केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदै आएका थिए । विगत २२० दिनयता ‘हन्ड्रेड्स ग्रुप्स’ ले कोरोनाका कारण बेरोजगार, असहाय र अशसक्तलाई खुल्ला मञ्चमा दैनिक निःशुल्क खाना खुवाउँदै आएको छ ।तर, तीन दिनयता महानगरले नगर प्रहरी परिचालन गरी खाना वितरणमा रोक लगाएको अभियन्ता बताउँछन् । पहिलोचोटी ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न भनेको थियो ।
महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एक अभियन्ता बद्रीप्रसाद ढुंगानाले जानकारी दिए । महानगरपालिकाले पनि सार्वजनिकस्थलमा खाना वितरण गर्न रोक लगाएको जनाएको छ । अहिले सडकमा खाना वितरण गर्नु पर्ने कोही नभएको ठहर गर्दै निःशुल्क खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको भनाइ छ ।सार्वजनिकस्थलमा फोहोर समेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकाले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतले जानकारी दिएको छ ।
‘हामीले मानव सेवा आश्रममार्फत सडकमा बस्नुपर्ने अवस्थाकालाई उद्धार गरिरहेका छौं, अहिले सडकमा खाना खानुपर्ने अवस्थाका सबैले आश्रममा सेवा पाइरहेका छन्,’ महानगरपालिका स्रोत भन्छ,’ सडकमा खाना बाँड्दा आफैं खानसक्ने अवस्थाका मान्छे पनि त्यहाँ आएका छन् ।’‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियानअन्तर्गत सडकमा सहयोगको अपेक्षा राख्नेमाथि आश्रममार्फत सेवा दिने काम भइरहेको महानगरपालिकाले जनाएको छ ।
महानगरका एक अधिकारीका अनुसार खाना खुवाउने भए आफैंले पार्टी प्यालेस भाडामा लिन अभियान्ताहरुलाई भनिएको छ । ‘सरकारको बेइज्जत हुने गरी सार्वजनिकस्थलमा किन खाना खुवाउनुपर्यो रु उनले भने, ‘कसैले खान पाएका छैनन् भने हामी मानव सेवा आश्रममा लगेर खुवाउँछौं ।’ महानगरले निःशुल्क खानाका कारण फोहोर बढेको बताए पनि अभियन्ताहरुले भने खाना खुवाउँदा निस्किने फोहोर तत्कालै आफूहरुले व्यवस्थापन गर्दै आएको बताएका छन् ।खुलामञ्चको निशुल्क खानामा रोक लगाएपछि महानगरले भोकाको जिम्मा आफैले लिने भएकोछ । जसका लागि सम्वन्धित वडामा संपर्क राख्नु पर्ने सूचित गरिएकोछ ।
प्रतिक्रिया