दाङ १९ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना एक सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ । नगर कार्यपालिकाको हिजो मंगलबार सम्पन्न ९५ औँ बैठकले ’स्मार्ट छोरी विहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागू हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकेको छ । कार्यविधिमा उल्लेख भए अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्य रुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ‘घटना दर्ता अनिवार्य गर्नुपर्नेमा कतिपय अभिभावकले बिनाकारण ढिला गर्ने गरेको पाइन्छ यसले केही सुधार हुने देखिन्छ’ उपप्रमुख शर्माले बताउनुभयो । कार्यक्रममा समावेश हुनका लागि उपयुक्त बालिकाको अभिभावकले बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कुरा कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैयाँ र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ ।
प्रतिक्रिया