काठमाण्डौ २१ कार्तिक । चाडपर्वलाई हुनेगरी १० हजार टन चिनी ल्याउने जिम्मा पाएको खाद्य व्यापार कम्पनीले अझै चिनी ल्याउन सकेको छैन । तर यो वर्षको तिहार र छठ पर्वमा चिनीको अभाव नहुने कम्पनीले दाबी गरेको छ ।१० हजार टन चिनी आयात ल्याउन नसकिए पनि साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याएर बेचिरहेकाले बजारमा हल्ला फैलाइएजस्तो चिनीको अभाव नहुने कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले दाबी गर्नुभयो । साल्ट ट्रेडिङले ल्याएको चिनी अहिले खाद्य संस्थानले पनि किनेर बेचिरहेको उहाँले बताउनुभयो । तर कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा भने नआउने पक्का भएको छ ।
गएको साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले भने समयमै चिनी ल्याउन नसकेको हो । त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महशुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिइएको थियो ।सरकारले दिएको स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनी समेत टुङ्गो लगाउन सकेको छैन ।
चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै पनि कम्पनीले चासो नदेखाएकाले समयमै सहुलियत दरको चिनी नआउने महाप्रबन्धक खनालले बताउनुभयो ।चिनी आयातका लागि दोस्रो पटक टेण्डर आह्वानको तयारी भइरहेको पनि उहाँले बताउनुभयो । अब टेण्डर आह्वान गर्दा पनि सबै प्रक्रिया पुर्याएर चिनी आयात गर्नका लागि तीन महिना लाग्ने उहाँको भनाइ छ । साल्ट टेड्रिङ कर्पोरेशनले अहिलेसम्म ५ हजार टन चिनी ल्याइसकेको छ । बाँकी चिनी ल्याउने काम भइरहेको साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाले जानकारी दिनुभयो ।
सहुलियत दरको चिनी पर्याप्त नहुँदा नीजि व्यापारीले महँगो मूल्यमा चिनी बेच्ने गरेका छन् । सहुलियत दरमा आयात गरेको चिनी साल्ट ट्रेडिङले प्रतिकिलो ७३ रुपैयाँमा बिक्री गर्दै आएको छ । चाडपर्वलाई लक्षित गरी थप ३ रुपैयाँ छुट दिएको साल्ट ट्रेडिङको चिनी प्रतिकिलो ७० रुपैयाँ पर्छ । तर, बजारमा व्यापारीले प्रतिकिलो ८५ देखि ९५ रूपैयाँसम्ममा बेच्ने गरेका छन् ।
प्रतिक्रिया