काठमाण्डौ २३ कार्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्ने भएका छन् ।खेल बेलुका पौने ८ बजे यूएईको आबुधाबीमा सुरु हुनेछ । आजको खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोली बाहिरिने छ । दोस्रो क्वालिफायर विजेता टिमले फाइनलमा उपाधिका लागि साविक विजेता मुम्बईको सामना गर्नेछ ।पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदा फाइनलमा पुग्ने अवसर गुमाएको दिल्ली हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
हैदराबाद पनि दिल्लीलाई हराउँदै तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ ।इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको हैदराबाद पछिल्लो चार खेलमा लगातार विजयी भएको छ । पछिल्ला ६ खेलमध्ये ५ खेलमा दिल्ली पराजित भएको छ । आईपीएलका १३ औं संस्करणमध्ये दिल्ली अहिलेसम्म फाइनल पुग्न सकेको छैन । दिल्ली आजको खेलमा विजयी भए पहिलो पटक फाइनलमा पुग्ने इतिहास बनाउनेछ ।आईपीएलको फाइनल खेल नोभेम्बर १० अर्थात् पर्सि बेलुका हुनेछ ।
प्रतिक्रिया