बुटवल २५ कार्तिक ।लुम्विनी प्रदेशलको प्रदेश सभाले बुटवल स्थित अस्थायी डेरावाट पुन दाङको अस्थायी भवनमा डेरा सारेर भएपनि हिउदे अधिबेशन दाङ मै हुने भएको छ । जसका लागि लुम्विनी प्रदेशको संसद बैठक कोराना उपचाररत आइशोलेशन सेन्टर रहेको स्थानमा संचालन हुने भएको हो । यसैबीच आइतबार राप्ती दाङको देउखुरीमा रहेको टेक्निकल कलेजको सञ्चालक समितिको बैठक बस्यो। बैठकले कलेजमा हाल रहेको आइसोलेसन सार्ने निर्णय गर्यो। त्यसबाहेक प्रदेश सरकार मातहतका पूर्वाधार विकास प्राधिकरणलाई दिने कलेजको भवन दिने बारेमा छलफल भएको थियो।
टेक्निकल कलेजका सहप्रधानाध्यापक कुलराज चौधरीले मुख्यमन्त्री कार्यालयबाट पूर्वाधार विकास प्राधिकरणका लागि ठाउँ उपलब्ध गराउन पत्र आएकाले त्यसबारे छलफल भएको जानकारी दिए। ‘पूर्वाधार विकास प्राधिकरणको लागि ठाउँ दिन सकिने, तर त्यसको लागि सिटीइभिटीलाई पत्र पठाउने निर्णय भएको छ, सिटीइभिटी मुख्य निकाय हो’–उनले भने–‘प्राधिकरण बाहेक अरु कार्यालयको लागि अहिलेसम्म प्रस्ताव आएको छैन, आयो भने पनि यहाँबाट निर्णय हुँदैन । केन्द्रमै सिटीइभिटीले निर्णय गर्छ।’
केही दिन अघि सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी लगायतको टोलीले प्रदेशको मुख्यालय राख्न सकिने सम्भावनाको बारेमा राप्ती टेक्निकल कलेजको ठाउँ अवलोकन गरेका थिए। अवलोकनका क्रममा प्रदेश सभाको आगामी सातौ अधिवेशन राख्न सकिने नसकिने बारेमा पनि छलफल भएको थियो। अवलोकनमा सहभागी उपसभामुख कृष्णी थारुले प्रदेश सभा नै सर्ने गरी त्यस्तो तयारी नभएको बताइन्। ‘एक खालको निर्णय गरिसकेपछि हेर्ने अवलोकन गर्ने कुरा भयो, प्राधिकरणलाई चाँहि छिटो पठाउने भन्ने कुरा छ, प्राधिकरण जाने बित्तिकै सबै जाने भन्ने होइन’–उनले भनिन्,–‘प्रदेश सभाको त्यस्तो तयारी खासै छैन, जे गर्छ सरकारले नै निर्णय गर्छ, सरकारले जा भन्यो भने हामी पनि जानुपर्छ।’
उपसभामुख थारुले प्रदेश सभा अहिले नै लैजादा पनि व्यवस्थापन गर्न गाह्रो हुने उल्लेख गरिन्। ‘टेक्निकल कलेज परिसरमा भवन त धेरै नै रहेछन्। त्यहीँ मात्र ताकेर भएन। प्रदेश सभाका ८७ जना माननीय, कर्मचारी, मर्यादापालक सुरक्षाकर्मीहरुको लागी पनि क्वाटर तथा बस्ने व्यवस्था हुनुपर्यो’–उनले भनिन्–‘त्यसै लगेर अलपत्र छरेर मात्र भएन जस्तो लाग्छ मलाई त। शहर भएको भए त झ्यापझुप गएर बसौं भन्ने हुन्थ्यो, अलि पातलो र ग्रामीण बस्ती रहेछ।’उपसभामुखले तत्काल प्रदेशसभा सार्न कठिन हुने बताएपनि आउँदो सातौ अधिवेशन उतै सार्ने गरी प्रदेश सभाले तयारी गरिरहेको छ।
अर्को अधिवेशन नै देउखुरीमा राख्ने तयारीका साथ अवलोकनमा पुगेको टोलीले प्राविधिक शिक्षालय र स्थानीय तहहरुलाई पनि तयारी गर्न भनेको थियो। तर त्यहाँ प्रदेश सभाको सचिवालयसहितका कार्यालयहरु, सभामुख, उपसभामुखसहितका निवास र दलका कार्यालय, विषयगत समितिका कार्यालय राख्न पर्याप्त भवन नभेटाएपछि प्रदेश सभा केही अलमलमा परेको छ। सभामुख घर्ती र आन्तरिक मामिला मन्त्री केसीले अस्थायी संरचनामै भएपनि राजधानीका कार्यालय सार्न जोडबल गरिरहेका छन्। प्रदेश सभा श्रोतका अनुसार सभामुख र सचिवले अर्को बैठक देउखुरीमै बस्ने बताइसकेका छन्।
श्रोतका अनुसार छठ पर्वपछि प्रदेश सभा सार्ने सुरसार हुने छ। ‘भित्री तयारी देख्दा छठ पछि उतै कार्यालय सर्छ कि जस्तो लाग्छ मलाई त’–ती कर्मचारीले भने–‘सरकारले अनुमति दिएको छ, पूर्वाधार प्राधिकरणले तयारी गरिरहेको छ, प्राधिकरणले जान उचित हुन्छ भन्यो भने सरिहाल्छ।’ प्रदेश सभाका सभामुख, उपसभामुख र आन्तरिक मामिला मन्त्रीसहितको टोली अवलोकनमा गएको समयमा छिटै नै राजधानीका कार्यालय सर्ने बताएपछि साबिक लुम्बिनी क्षेत्रका सांसदले असन्तुष्टि जनाएका थिए।
प्रतिक्रिया