अन्तर्राष्ट्रिय

चिनिया रक्षामन्त्रीको नेपाल भ्रमण अमेरीका र भारतलाई चासो



काठमाडौं, ६ मंसिर । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

    चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् । चिनियाँ रक्षामन्त्री नेपाल हुँदै बंगलादेश र पाकिस्तानको भ्रमणमा जानेछन् । चिनियाँ विदेशमन्त्री वाङ्ग यी नेपाल भ्रमणमा आउने चर्चा चले पनि अन्ततः रक्षामन्त्री नै नेपाल भ्रमणमा आउन लागेका हुन् ।

    काठमाण्डौंस्थित चिनियाँ राजदूतावासले आयोजना गर्ने द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा समेत उनले सहभागी जनाउने छन् । उनको भ्रमणको विषयमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच छलफल भएको थियो ।प्रधानमन्त्री ओली र राजदूत यान्छीबीचको भेटलाई नेकपाको विवादमा चीनले चासो दिएको अर्थमा चर्चा भए पनि भेटमा रक्षामन्त्रीको नेपाल भ्रमणबारे छलफल भएको स्रोत बताउँछ ।

    तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१९ को अक्टोबरमा चीनको भ्रमण गरेका थिए ।पोखरेलको चिनियां रक्षामन्त्री फेङ्हेसँग राम्रो व्यक्तिगत सम्बन्ध समेत छ । उनको भ्रमणका बेला २.५ विलियन बराबरको सैन्य सहयोग नेपाली सेनालाई दिने सहमतिमा हस्ताक्षर समेत भएको थियो । त्यसपछि गत जुलाईमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत चीन भ्रमण भएको थियो ।

    त्यसैको निरन्तरता स्वरुप चीनबाट उच्चस्तरको भ्रमण हुन लागेको हो । तत्कालीन रक्षामन्त्री पोखरेलले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिंगले गत वर्षको अक्टोबर १२–१३ मा नेपालको भ्रमण गरेका थिए । त्यसयता चीनबाट उच्चस्तरीय भ्रमण भएको छैन् ।चीनको स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् । उनी चिनियाँ राष्ट्रपतिका विश्वासिला नेता हुनुका साथै पहिलो नम्बरका स्टेट काउन्सिलर समेत हुन् ।

    यसअघि चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्स कमाण्डर रहेका उनी केन्द्रीय सैन्य आयोगका पहिलो नम्बरमा सदस्य हुन् । उक्त आयोगको चिनियाँ राष्ट्रपति सी अध्यक्ष हुन् । त्यसअघि उनी चिनियाँ जनमुक्ति सेनाको डेपुटी चिफ अफ स्टाफको जिम्मेवारीमा थिए ।पछिल्लो समय भारतबाट उच्चस्तरको राजनीतिक भ्रमण भएसँगै चीनबाट पनि त्योभन्दा माथिल्लो स्तरबाट भ्रमण हुन लागेको हो । भारत र अमेरिकाबीच दक्षिण एसियामा रणनैतिक साझेदारी बढेसँगै यो क्षेत्रमा चिनियाँ चांसो पनि बढेको हो ।

प्रकाशित : ६ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६