अर्थ-वाणिज्य

कोभिड अस्पतालले आश्वासन पत्रलाई नपत्याउदा एचडियू सेवा संचालनमा आएन



रुपन्देही ८मंसिर । लुम्विनी प्रदेश सरकारले हाल संचालनमा रहेका ४ वटा कोभिड विशेष अस्पतालमा एचडियू सेवा ( हाई डिपेन्डेन्सी युनिट) स्थापना गर्ने भनि गरेको निर्णय कार्यान्वयनमा आउन सकेको छैन । सरकारले सामाजिक विकास मन्त्रालयका तर्फवाट श्रोत सुनिश्चितताको आश्वासन पत्र पठाएकोमा ती अस्पतालले त्यसकै आधारमा खरिद प्रकृया अघि बढाउन नसक्दा यस्तो स्थिती आएकोहो । सरकारले वजेट नपठाएर आश्वासन पत्र पठाउदा कोभिड उपचार प्रभावित भएको हो । 

    विवरण अनुसार असोजको पहिलो हप्ता बसेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बुटवलको लुम्बिनी प्रदेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीहरुको लागि हाइ डिपेन्डेन्सी युनिट एचडीयु सेवा विस्तार गर्ने निर्णय गरेको थियो । त्यसको झण्डै एक महिनापछि कात्तिकको पहिलो हप्तामा बसेको केन्द्रकै अर्को बैठकले पनि एचडियु सेवा सम्बन्धी एक कदम अघि बढेर जिल्ला अस्पतालमा पनि एचडियु सेवाको विस्तार गर्ने निर्णय गरेको थियो । 

    आइसियु भन्दा कम र जनरल आइसोलेसन बेड भन्दा बढी सुविधा भएको एचडियु सेवा भएमा उपचारमा सहजता हुने थियो । यसबाट मृत्युदर पनि कम हुन सक्थ्यो । बुटवलको कोरोना विशेष अस्पतालमा १६ बेडको आइसियु सेवा छ । आइसियुका बेड प्रायः भरिभराउ हुन्छ । बेडको अभावमा अन्तिम अवस्थामा आइसियुमा ल्याइएका धेरैले ज्यान गुमाएका छन । कतिपयको आइसियुमा बेड नै नपाएर मृत्यु भएको छ । 

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुटवलको कोरोना अस्पतालको आइसियुमा हालसम्म ७५ जना बिरामी भर्ना भएका छन् । तर त्यो भन्दा बढी ९६ जनाको अस्पतालमै मृत्यु भइसकेको छ। यसले आइसियुमा उपचार नपाएर हुने संख्यालाई पनि चित्रित गर्दछ । अहिले लक्षण देखिएर  ज्वरो आएका बिरामीहरु सुरुमा प्रादेशिक अस्पतालको फिवर क्लिनकमा जाने गर्दछन । सामान्य लक्षण देखिएकाहरु स्वास्थ्य परिक्षण पछि घर फर्केर होम आइसोलेसनमा बस्छन । गम्भीर प्रकारका बिरामीलाई कोरोना अस्पताल पठाइन्छ । धागो कारखानाको अस्पतालमा बेड खाली नहुँदा प्रादेशिक अस्पतालकै फिवर क्लिनिकमा राखिन्छ। आइसियु नपाएर कतिपय बिरामीको फिवर क्लिनिकमै मृत्यु भएको छ । 

    तर प्रदेश सरकारले तत्काल विस्तार गर्ने भनिएको भएपनि बुटवलको कोरोना विशेष अस्पताल र बेलभुण्डी अस्पताल सहितका कोभिड विशेष अस्पतालमा  अझै सम्म एचडियु सेवा थपिएको छैन।सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशका चारवटै कोभिड अस्पतालमा अहिलेसम्म एचडियु सेवा विस्तार गरिसक्ने योजना रहेपनि केही ढिलाइ भएको स्वीकार्नु भयो । उहाले सबै अस्पतालमा बजेट गइसकेको र टेण्डर प्रक्रिया अघि बढेको दावि गर्नु भयो ।

     अहिले ४ वटा कोभिड अस्पतालमा २५ वटाको दरले एचडियु सेवा थप हुने र त्यसको लागि ६ करोड जति बजेट छुट्याएको मन्त्री बरालको भनाइ छ ।तर कोभिड विशेष अस्पतालले रकम निकाशा नभएको दावि गरेका छन् । आश्वासन पत्र र वजेट निकासा पत्र फरक रहेको भन्दै वजेट आए काम किन हुदैनथ्यो भन्ने प्रश्न गरेका छन् । 

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६