कपिलवस्तु ८ मंसिर ।गाउँको सिंहदरवार मानिएको कपिलवस्तु नगरपालिका वडा नं ९ ले सुत्केरी महिलाहरुका लागि पोषिलो आहार स्वरुप घ्यू र अण्डा वितरण गर्ने अभियान शुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक महिलालाई एक क्यारेट अण्डा र १ केजि घ्यू दिने अभियान सोमबारबाट शुरु गरिएकोे वडा अध्यक्ष शिब बहादुर वाग्लेले बताउनुभयो ।
वडाको आर्थिक सहयोग ,निग्लिहवा स्वास्थ्य चौकी जगदिशपुरको आयोजना र साना किसान कृषि सहकारी संस्था जगदिशपुरको समन्वयमा वडाभित्रका सुत्केरी महिलालाई पोषिलो आहार वितरण गरिएको हो । अभियानको पहिलो दिन ३५ जना सुत्केरी महिलालाई वितरण गरेको वडा कार्यालय जनाएको छ । यो अभियान निरन्तर रुपमा चल्ने भएकोले वडा भित्रका साउन महिना यताका नयाँ सुत्केरी महिलाहरुले सम्पर्क गर्नुपर्ने वडाध्यक्ष वाग्लेले स्पष्ट पार्नूभयो । यस कार्यक्रममा लागि ढेड लाख बजेट छुट्याएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष वाग्लेले आगामी बर्षमा पनि महिलाहरुका लागि बिभिन्न शिर्षकमा बजेट बिनियोजन गर्ने बताउदै वडामा एम्बुलेन्स सञ्चालनको लागि पनि बिभिन्न खालका प्रयास र पहल भईरहेको बताउनुभएको छ । कार्यक्रममा पोषिलो आहार वितरण गर्दै कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले सुत्केरी भएपछि सुत्केरीमा पोषण आहारको कमीले रोगसँग लड्ने क्षमता वृद्घि गर्न पौष्टिक आहार अतिआवश्यक पर्ने बताउनुभयो ।
उहाले कपिलवस्तु नगरपालिकाले बच्चा अस्पतालमा जन्मिएको र बच्चाको दर्ता लिएर नगरपालिकामा आएमा आमा सुरक्षा कार्यक्रम मार्फत १ हजार दिने ब्यवस्था गरिएको समेत जानकारी गराउनुभयो । वडा अध्यक्ष वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यमाथि निग्लिहवा स्वास्थ्य चौकीका प्रमुख हरिराम चौधरीले प्रकाश पार्नूभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब बिजय पोख्रेलले गर्नुभएको थियो ।
प्रतिक्रिया