बुटवल १६ मसिर । रुपन्देहीमा उपचाररत थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु कपिलबस्तु, दाङ र गुल्मीका हुन् । बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको हो । दाङको तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षिय पुरुषको आज विहान साढे ८ बजे कोरोना विशेष अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । कोरोना संक्रमण पुष्टी भएर उनी दाङको बेलझुण्डी अस्पतालमा भर्ना भएका थिए । त्यहाँ आइसियुको अभाव भएपछि सोमबार मात्र रिफर गरेर बुटवल ल्याइएको थियो ।
यस्तै कपिलबस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाकी ५० वर्षिय महिलाको मृत्यु भएको छ । मंसिर १३ गते कोरोना संक्रमण पुष्टी भएर होम आइसोलेनमा रहनुभएकी उनलाई १५ गते सोमबार अस्पतालमा भर्ना गरिएको थियो । कोरोना अस्पतालको आइसियुमा उपचाररत उनको गयराती १० बजेर ५ मिनेटमा मृत्यु भएको डा. गौतमले बताए । उता भैरहवाको भिम अस्पतालमा कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका ३ बाट उपचारका लागि आएका ९८ वर्षिय पुरुषको गयराती पौने १ बजे मृत्यु भएको भिम अस्पतालका सुचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिए । विहिबार कोरोना संक्रमण पुष्टी भएपछि उनलाई थप उपचारको लागि भिम अस्प्ताल ल्याइएको थियो ।
प्रतिक्रिया