नेपालगञ्ज १६ मंसिर ।बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । झडपमा परी मृत्यु हुनेमा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादव रहेका छन् । स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण भएको विवादमा दुई पक्षबीच झडप हुँदा धनीरामको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका–५ गुरुवागाँउस्थित नागबाबा कुटीमा लागेको कात्तिके पूर्णिमा मेलामा पुरानो रिसिबीलाई लिएर उनीहरुबीच विवाद भएको थियो । प्रहरीका अनुसार सोही विवादलाई लिएर दुवै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै–झगडा एवं कुटपिट हुँदा धनीराम गम्भीर घाइते भएका थिए । उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया