काठमाण्डौ १८ मंसिर । सत्तारुढ नेकपाभित्रको विवाद तत्काल समाधान हुने संकेत नदेखिएपछि दुवै पक्ष आन्तरिक रणनीतिमा जुटेका छन् ।बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि अर्को बैठक शनिबारको लागि बोलाइएको छ । शनिबारको बैठकमा पनि ओली उपस्थित हुने या नहुने निश्चित भइसकेको छैन । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन फिर्ता गर्नुपर्ने अडान राख्नुभएको छ । तर प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने बताउँदै आउनुभएको छ ।
दुवै अध्यक्ष आ-आफ्नो अडानबाट पछि नहटेकाले शनिबारको सचिवालय बैठकअघि सहमति हुने सम्भावना कम छ । तर सहमति खोज्नकै लागि बिहीबार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । स्थायी कमिटीमा जानुअघि निर्णायक बैठकमा ओलीलाई पनि सहभागी गराउने प्रयासस्वरूप धैर्य गरिएको प्रचण्ड-नेपाल समूहका नेताहरूको भनाइ छ ।बुधबारको सचिवालय बैठकले २० गते सचिवालय र २१ गते स्थायी कमिटी बैठक गर्ने निर्णय गरेको छ ।
यसअघि मंसिर ३ को सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।सचिवालय बैठकमा दुवै अध्यक्षले एकअर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओली पक्षले प्रचण्डको प्रस्ताव फिर्ता गर्नुपर्ने अडान लिएको छ । तर प्रचण्ड र माधव नेपाल समूहले भने दुवै प्रस्ताव बैठकबाटै टुङ्ग्याउनुपर्ने बताउँदै आएको छ ।
यसअघि मंसिर ३ गतेको सचिवालय बैठकले सहमतिको लागि भन्दै १३ गतेसम्म बैठक स्थगित गरेको थियो । तर त्यसबीचमा अध्यक्ष ओलीको प्रस्ताव तयार गर्न मात्रै समय खर्च भयो, सहमतिका लागि अरु प्रयास भएन । १३ गतेको बैठकमा ओलीको प्रस्ताव मात्रै पेस भयो ।त्यसपछि मंगलबारको बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमा छलफल सुरु भएको नेताहरुले बताए । तर त्यो बैठकमा ओलीले अनौपचारिक छलफल गरेर सहमति गरेपछि मात्रै औपचारिक बैठक बस्न प्रस्ताव गर्नुभएको थियो । जुन प्रस्तावलाई प्रचण्ड(नेपाल पक्षले अस्वीकार गर्यो र बुधबार ओलीको उपस्थितिबिना नै बैठक बस्यो ।
प्रचण्ड-नेपाल समूह दुवै प्रस्ताव सचिवालय हुँदै स्थायी र केन्द्रीय कमिटीमा लगेर टुङ्ग्याउनुपर्ने पक्षमा छ । तर यसले पार्टी विभाजनलाई बल पुग्ने हुँदा पहिले अनौपचारिक छलफलले सहमति गरेपछि मात्रै औपचारिक बैठक राख्नुपर्ने ओलीको अडान छ । यसबीचमा केही नेताहरुले दुवै प्रस्तावलाई थाती राखेर संयुक्त प्रस्ताव बनाउनुपर्नेमा जोड दिए पनि त्यसअनुसार सहमति हुन सकेको छैन ।ओलीलाई गृहकार्य गर्न समय होओस् भनेर स्थायी कमिटी बैठक २१ गतेलाई सारेर २० गते सचिवालय बैठक बोलाइएको प्रचण्ड-नेपाल समूहका नेताहरुको भनाइ छ ।
तर अल्पमत-बहुमतको हिसाब गरेर प्रचण्ड-नेपाल समूहले दबाब दिएको ओली पक्षका नेताहरुको बुझाइ छ ।२० गतेको सचिवालय बैठकअघि पनि सहमति जुटेन भने फेरि बैठक स्थगित हुन्छ या बैठकबाटै प्रस्तावको टुंगो लाग्छ भन्ने यकिन छैन । तर यसअघिका अभ्यास हेर्दा सहमति नहुँदासम्म २० गतेको बैठकमा पनि ओली सहभागी हुने सम्भावना कम छ । ओली फेरि सहभागी हुनुभएन भने बैठकलाई निरन्तरता दिन प्रचण्ड-नेपाल समूहलाई चुनौती देखिन्छ । यसकारण कुनै एक पक्ष लचक नहुँदासम्म नेकपाभित्रको विवाद छिटै छिनोफानो हुने सम्भावना देखिँदैन ।








प्रतिक्रिया