लुम्बिनी २२मंसिर । लुम्बिनी विकास कोषको परिषद बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गरेको छ । बैठकले आन्तरिकतर्फ २० करोड १८ लाख र संघीय सरकारको एक अर्ब रुपैयाँको बजेट पारित गरेको हो । त्यस्तै बैठकले आन्तरिक व्यवस्थापन कार्यविधि स्वीकृत गर्नुका साथै ग्लोबल बुद्धिष्ट फोरम गठन गर्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।त्यस्तै परिषद बैठकले लुम्बिनी बृहत्तर क्षेत्र विकास कार्यक्रमको कार्यविधि पनि स्वीकृत गरेको छ ।
लुम्बिनी विकास कोषको परिषद बैठक प्रत्येक ६–६ महिनामा बस्ने प्रावधान भएपनि गत फागुन यता बल्ल बैठक बसेको हो । बैठकलाई संबोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनको आधारमा विकास गरिने उनको भनाइ छ ।
नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
प्रतिक्रिया