जीवनशैली

कोभिड–१९ का कारण मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने



काठमाडौँ २८ मंसिर । कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ । सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो । तोकिएको अवधि आगामी पुसमा सकिने नदेखिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार कोभिडका कारण ढिलाइ भएका आयोजनामा छ महिना अवधि थप्न सकिने सरकारको निर्णयका आधारमा थप्न लागिएको हो । उहाँले भन्नुभयो, “चैतसम्ममा आयोजनाले काम सम्पन्न गर्छ भन्ने हामीलाई लागेको छ ।”

निर्माण कम्पनीले आगामी चैतबाट पानी पथान्तरण नै गर्न सकिने बताएको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार गत असारमा सुरुङको परीक्षणका क्रममा अस्थायी बाँधबाट पानी सुरुङमा पठाइएको थियो । अहिले आयोजनाले पुनः पानी पथान्तरण गर्ने योजना बनाइरहँदा ‘हेडबक्स’ निर्माण सकिएमा त्यसैबाट पथान्तरण गर्न सकिनेछ ।बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुनसकेको थिएन । निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको थियो । स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सञ्चालन थियो । लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ । काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकसँग सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ । 

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६