अर्थ-वाणिज्य

सैनामैनामा परम्परागत हाटबजारलाई व्यवस्थित गर्दै आधुनिक हाटबजार बनाउने तयारी सुरु



 रुपन्देही २८ मंसिर । रुपन्देहीको सैनामैना नगरपालिकाले परम्परागत रुपमा सञ्चालनमा रहेका हाटबजारलाई व्यवस्थित गर्दै आधुनिक हाटबजार बनाउने तयारी थालेको छ। खुल्ला आकाश मुनि तथा तिरपाल टाँगेर हाटबजारमा व्यापार गरिरहेका व्यापारीहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले व्यवस्थित रुपमा हाटबजार सञ्चालनमा ल्याउने तयारी गरेको हो।नगरपालिकाका अनुसार वडा नम्बर ३ मा रहेको मुर्गिया, वडा नम्बर ८ को कलौनी उत्तरमा रहेको शान्तिटोल र वडा नम्बर १० सालझण्डीमा रहेको पानबारीमा गरी तीन ठाउँमा अत्याधुनिक हाटबजार सञ्चालनमा ल्याउन लागिएको हो।

लामो समयदेखि साघुँरो र जोखिममा रहेर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एकीकृत किसिमले बजार व्यवस्थापन गर्ने उद्देश्यले अत्याधुनिक हाटबजार सञ्चालनमा ल्याउने तयारी गरिएको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए।‘मुर्गियामा निर्मित भएको साप्ताहिक हाट बजार र शान्तिटोलमा रहेको हाटबजार पुषदेखि सञ्चालन आउँछ’ उनले भने ‘पानबारीमा निर्माण भइरहेको हाटबजार भने आगामी आर्थिक वर्ष देखि सञ्चालनमा ल्याउने नगरको योजना छ ।’ नगरप्रमुख कार्कीका अनुसार करिब १ विघा १४ कठ्ठामा निर्मित मुर्गियाको हाटबजारमा साढे ४ सय जति व्यापारी अट्ने छन्।

जहाँ ५८ वटा सेड छन्। एउटा सेडमा चार जना व्यापारी बस्न मिल्छ। बजारको चारै तिरको नालीमा छुट्टै व्यापारीहरु बस्न मिल्ने सेड समेत निर्माण भईरहेका छन्। हाटबजारमा पर्खाल, नाली, सडक स्तरोन्नती, इन्टरलक टायल गर्ने देखि शौचालय निर्माण सम्मका कामहरु हुँदैछन्। हाटबजार सञ्चालनमा आइसकेपछि व्यवसायीहरुको स्वास्थ्यमा असर नपर्ने नगरप्रमुख कार्कीको भनाई छ । ‘हाटबजारमा राखिएका सामानहरु धुलो मैलो हुने छैनन्, उपभोक्ताहरुले पनि राम्रो सामान उपभोग गर्ने अवस्था सिर्जना हुनेछ,’उनले भने ‘बजार गएकै कारणले प्रदुषण भोग्नुपर्ने लगायतका समस्या नहोस् भनेर व्यवस्थित हाटबजार निर्माण गर्न लागेका हौं।’

प्ताहिक हाटबजारलाई व्यवस्थित गर्न दुई वर्ष अघिदेखी नै योजना बनाएर अघि बढेको नगरपालिकाका योजना प्रमुख सुरज न्यौपानेले बताए। उनले आर्थिक वर्ष २०७७÷०७८ सम्म मुर्गियाको हाटबजारका लागि लुम्बिनी प्रदेश र सैनामैना नगरपालिकाको साझेदारीमा करिब ३ करोडको लागतमा काम भईरहेको जानकारी दिए। यस वर्ष पनि उक्त हाटबजारलाई बजेट परेको छ। न्यौपानेका अनुसार करिब १ विघा क्षेत्रफलमा निर्मित कलौनी शान्तिटोलको हाटबजारमा पनि प्रदेश सरकार र नगरपािलकाको ३ करोडको लागतमा करिब ५२ वटा सेड तयार भएका छन्।यहाँ पनि नाली निर्माण, शौचालय लगायतका कामहरु भएका छन् भने इन्टरलक टायलको काम पनि सुरु भएको छ। उता, सालझण्डीको पानबारीमा भने नगरपालिकाको ४० लाखको लागतमा व्यवस्थित साप्ताहिक बजार बन्न लागेको हो। पानबारीमा करिब १२ सेड मात्र सेड बन्नेछन्। अत्याधुनिक हाटबजार सञ्चालनमा आएपछि हप्तामा दुई दिन बजार लाग्ने नगरपालिकाले जनाएको छ।

खुल्ला रुपमा चौरमा सञ्चालनमा रहेको हाटबजारलाई टिनको छानोसहितको भुइँमा इट्टा बिछ्याएर हाटबजारलाई व्यवस्थित गरिएको छ। दैनिक रुपमा उत्पादन गर्ने कृषि उत्पादनहरु साप्ताहिक हाटबजारमा लगेर बेच्न चाहने किसानहरुको लागि बैठकी नलाग्ने गरी छुट्टै भेण्डर निर्माण गरेर कृषि उत्पादन सिधै उपभोक्तलाई बेच्न पाउने गरी सुविधाहरु उपलब्ध गराउने नगरको योजना छ।सैनामैना नगरपालिकामा हाल परम्परागत रुपमै साघुँरो ठाउँमा तिरपाल टाँगेर, खरको वा टिनोको छानो तथा खुल्ला आकाशमा नै हाटबजार सञ्चालन भईरहेका छन्। जसमा रानिबगिया, मुर्गिया, कलौनी, सालझण्डी, लगायतका मुख्य बजार छन्।

कलौनीमा पुर्व पश्चिम राजमार्ग र लुम्बिनी सडकको सडक पेटीमै बसेर व्यापारीहरुले सामान बेच्न बाध्य छन् भने सालझण्डीको पानबारीलगायत अन्य हाटबजारहरुको अवस्था अस्त व्यस्त छ। बजारमा तरकारी, घरायसी सामान देखि लत्ताकपडा सम्मका सामान किन्ने उपभोक्ताको बढी भिडभाड हुने गर्दछ।वर्षौदेखि सैनामैनाको मुर्गिया, कलौनी र सालझण्डीको पानबारीमा परम्मरागत रुपमै साप्ताहिक हाटबजार सञ्चालन हुँदै आएका छन्। मुर्गियामा सोमबार र विहीबार, कलौनीमा शुक्रबार र सालझण्डी पानबारीमा मंगलबार साप्ताहिक हाटबजार लाग्छ।  लुम्विनी टाईम्स

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६