ब्रेकिंग न्युज

लुम्बिनी प्रदेशमा सवारी दुर्घटना महिनैपिच्छे बढ्दै, दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड पुन: लागू गर्ने तयारी



बुटवल २९ मंसिर । सडकमा सवारी चाप बढेसँगै दुर्घटनाको संख्या पनि त्यत्तिकै बढिरहेको छ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार  रुपन्देहीमा मंसिरको २७ गतेसम्म  ३७ वटा सवारी दुर्घटना भएका छन्। जसमा १६ जनाको मृत्यु भएको छ। त्यस्तै २४ जना गम्भीर घाइते छन्।

३१ जना सामान्य घाइते भएका छन् ।  मंसिर महिनामा कात्तिकको भन्दा बढी सवारी दुर्घटना भएको छ भने मृत्यु हुनेको संख्या पनि बढि छ। कात्तिक महिनाभर २५ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो। त्यस्तै गत असोजमा रुपन्देहीमा ८ वटा दुर्घटनामा ३ जनाको ज्यान गएको थियो। 

रुपन्देहीमा मात्र होइन लुम्बिनी प्रदेशमा  सवारी दुर्घटनाको दर महिनैपिच्छे बढ्दै गएको छ । प्रदेशमा मंसिर १ गतेदेखि २७ गतेसम्मको अवधिमा १ सय २५ वटा सवारी दुर्घटना भएको छ। जसमा ४८ जनाले ज्यान गुमाएका छन्। १ सय १५ जना गम्भीर घाइते भएका छन्। कात्तिक महिनामा दुर्घटनाको संख्या मंसिरमहिना भन्दा १८ वटा कम छ।

प्रदेशमा कात्तिक महिनामा १ सय ७ वटा दुर्घटना भएकोमा ५१ जनाको मृत्यु भएको छ। कात्तिकमा मृत्यु हुनेको संख्या धेरै देखिएपनि गम्भीर घाइते हुनेको संख्या जारी मंसिर महिनामै बढी देखिएको छ। कात्तिकमा गम्भीर घाइते हुनेको संख्या ९१ रहेको छ। लुम्बिनी प्रदेशमा असोज महिनामा ७३ वटा दुर्घटना भएकोमा २४ जनाले ज्यान गुमाएका थिए भने ४८ जना गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

महिनैपिच्छे दुर्घटनाको संख्या लगातार बढ्नुमा बढ्दै गरेको सवारी चाप पनि एउटा कारण हो। सवारी चाप बाहेक अन्य केही कारण पनि रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डे बताउँछन्। ‘कोभिडका कारण अहिले धेरैले निजी सवारी साधन लिए, त्यसले सडकमा सवारी चाप बढाएको छ।’–उनले भने–‘मान्छेहरु काम विशेषले होटल वा अरु कतै बास बस्थे। अहिले त्यसरी बस्दैनन्, अबेरै भए पनि हतार गरेर आफ्नै घर जाने गर्छन।’

डिएसपी पाण्डेले नयाँ निजी गाडी लिएकाहरुमा सवारी चलाउने अभ्यास नभएको हुनसक्ने उल्लेख गरे। ‘सवारी किनेर लाइसेन्स भएर पनि अभ्यास कम भएकाले सवारी चलाए, लाइसेन्स नभएकाले पनि चलाउन खोजे’–उनले भने–‘यसले पनि दुर्घटना संख्या बढाउने कारक बन्यो।’पाण्डेले दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड फेरि लागू गर्ने तयारीमा रहेको बताए। कोभिडको कारण बीचमा टिप्पर लगायतका साधनमा टाइमकार्ड लागू भएको थिएन। अब फेरि लागू गर्ने उनले बताए। ‘त्यसबाहेक सवारी चेकिङ पनि बढाउँछौं’–उनले भने।   

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६