पर्यटन

राप्तीमा गोही छोडियो



चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो ।
निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । ती सबै गोही राप्तीमा छोडिँदै छ । गत वर्ष ५० गोही नदीमा छाडिएको थियो । राप्ती र नारायणी नदीमा गोहीले पारेका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लग्ने गरिन्छ । ती अण्डा र प्रजनन केन्द्रका गोहीले पारेका अण्डा कोरलेर बच्चा हुर्काउने गरिन्छ । पाँच वर्षपछि ती बच्चा नदीमा छोडिँदै आएको छ । हाल छोडिएका गोही छ वर्ष उमेरका हुन् ।


सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका योसहित एक हजार ५२५ गोही विभिन्न नदीमा छोडिएका छन् । सबैभन्दा बढी ८४५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालिगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ ।

सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही मानव अतिक्रमणका कारण पनि समस्यामा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा बेरिएर बर्सेनि गोही मर्ने गरेका छन् । नदी प्रदूषित हुँदा गोहीलाई आहाराको अभाव र फोहरपानीका कारण यसको सङ्ख्या वृद्धिमा बाधा पर्ने गरेको उहाँको भनाइ छ । नदी छेउका शहर र उद्योगबाट उत्पादित फोहर नदीमा मिसिदा नदीमा जलीय पारिस्थितिकीय प्रणाली (वाटर इकोस्टिम) बिग्रिँदा गोही बचाउन कठिन भएको बरालले गुनासो गर्नुभयो । मनोमानी ढङ्गले नदी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्नाले पनि गोहीको बासस्थानमा खलल ल्याएको उहाँको भनाइ छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यहाँ हुर्काएर नदीमा छोडिएका गोही भारततर्फ जाने गरेका कारण नेपालका नदीमा सङ्ख्या बढ्न सकेको छैन । त्रिवेणीमा रहेको गण्डक ब्यारेजबाट भारततर्फ गएका गोही फर्किएर आउन कठिन हुने हुँदा पनि समस्या हुने गरेको छ ।


प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६