गण्डकी

आन्तरिक पाहुनालाई होटलका कोठाको मूल्यमा ५० प्रतिशतसम्म छुट



पोखरा २ पुष । कोरोना संक्रमणको चपेटामा परेको पर्यटन व्यवसाय तंग्रिने प्रयासमा छ। त्यसका लागि यहाँका होटल व्यवसायीले आन्तरिक पाहुनालाई होटलका कोठाको मूल्यमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेका छन्। आन्तरिक पाहुनालाई पोखरामा आकर्षण गर्न छुटको अफर ल्याएको व्यवसायीको भनाइ छ। व्यवसायीका अनुसार आन्तरिक पाहुनालाई दिइने यो छुट कोरोना महामारी जारी रहेसम्म कायम रहनेछ। होटल संघका केन्द्रीय सदस्य भरत पराजुलीले होटलका कोठाको मूल्यमा ५० प्रतिशतसम्म छुट दिने निर्णय भएको बताए। संघको कार्यसमितिको बैठकले नै छुटको निर्णय गरेको उनले बताए।

‘बढीभन्दा बढी आन्तरिक पाहुनालाई पोखरामा आकर्षण गर्न छुट दिने निर्णय गरेका हौं। यो बेला यसै त पाहुना छैनन्, त्यसैमा पनि महंगो मूल्य असुल्न खोज्यौं भने पाहुनामाथि नै अन्याय हुनेछ,’ पराजुलीले भने, ‘कम मूल्यमा सेवा दिएर भएपनि व्यवसाय चलायमान बनाउनुपर्ने अवस्था छ। अहिले कमाउने बेला होइन, व्यवसाय चलायमान बनाउने प्रयास मात्र गरेका हौं। त्यसका लागि खर्च मात्र धान्नेगरी पाहुनालाई सस्तोमा सेवा दिन चाहेका हौं।’पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्षसमेत रहेका पराजुलीका अनुसार होटलले तोकेको मूल्यमा ५० प्रतिशत छुट दिनेछन्। यसअघि बार्गेनिङ गरेकै भरमा पाहुनाले केही सस्तोमा कोठा पाउने गरेको भएपनि अब ५० प्रतिशत छुट पाउने पराजुलीले बताए।

‘एकरातको चार हजार पर्ने कोठाको यसअघि तीन हजारदेखि ३५ सय रूपैयाँमा पाहुनाले पाउँथे, त्यो बेला व्यवसायीले केही छुट दिएपनि सकेसम्म बढी मूल्य लिन खोज्थे। तर, अब भने चार हजार रूपैयाँको कोठालाई पाहुनाले दुई हजार रूपैयाँ तिरे पुग्नेछ,’ पराजुलीले भने, ‘देखावटी छुट नभई पाहुनाले राहत नै पाउनेगरी आधा मूल्यमा कोठा पाउनेछन्।’ कोठाको मूल्य सोध्दा नै आधा मूल्य बताउने गरी व्यवसायीले छुट दिएको उनले बताए।  अप्ठेरो अवस्थाका बेला पोखरालाई आन्तरिक पाहुनाले साथ दिएकाले अहिलेको अप्ठेरोलाई पार लगाउन पनि आगामी दिनमा आन्तरिक पाहुनाकै भर परेको उनले बताए। ‘केही दिनअघि हामीले ‘जाउँ है पोखरा’ अभियान चलाउँदै पूर्वी सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्‍यौं।

त्यो बेला नै हामीले ५० प्रतिशत छुटको जानकारी दिएका छांै,’ उनले भने, ‘पोखरा महंगो सहर भनेर भन्ने गरिन्छ। तर, होटलका पाहुनाले महंगो रकम तिर्नु नपरोस् भन्ने चाहेका हौं।’ अप्ठेरो अवस्थामा आन्तरिक पाहुनाले साथ दिएकाले अहिलेको अप्ठेरोलाई पार लगाउन पनि आन्तरिक पाहुनाकै खोजी गरेको उनले बताए। ‘भूकम्प, नाकाबन्दीका बेला आन्तरिक पाहुनाले राहत दिएका थिए। भूकम्पका बेला पनि हामीले आन्तरिक पाहुनालाई कोठाको मूल्यमा भारी छुट दिएका थियौं,’ उनले भने, ‘अहिले पनि आन्तरिक पाहुना नै तान्ने प्रयासमा हामी छौं।’ व्यवसायीका अनुसार पोखरामा कोरोना महामारी सुरु हुनुअघि आन्तरिक पाहुनाको वर्षभरिको औसत अकुपेन्सी ४० प्रतिशत हाराहारीमा थियो।  

संघका अध्यक्ष विकल तुलाचनले पनि ट्यारिफमा ५० प्रतिशत छुट दिँदा पोखरामा आन्तरिक पाहुना तान्न सकिने बताए। हालका लागि आन्तरिक पाहुनाका लागि मात्र यो छुटको अफर लागू भएको पनि उनले बताए। तत्काल विदेशी पाहुना आउने अवस्था नरहेकाले पनि अहिले आन्तरिकको भरमा व्यवसाय थेग्न सक्षम हुनुपर्ने अवस्था आएकाले पनि छुटको अफर ल्याएको तुलाचनले बताए।  

‘५० प्रतिशतसम्म छुट दिँदा पोखरामा आन्तरिक पाहुना आउनेमा हामी आशावादी छौं,’ तुलाचनले भने। तुलाचनका अनुसार पोखरामा सञ्चालित तारेसहित ठूला होटलले आन्तरिक पाहुनालाई मात्र लक्षित गरेर सस्तो प्याकेज ल्याएका छन्। त्यो प्याकेजले पनि करिब ५० प्रतिशत छुटलाई समेट्ने उनले बताए। ‘यो बेला पूरै शुल्क असुल्छु भन्यो भने पाहुना नै पाइनेछैन। त्यही भएर सस्तो मूल्यमा भएपनि सेवा दिएर पाहुनालाई पोखरा घुम्न बोलाउन खोजेका हौं,’ तुलाचनले भने, ‘प्याकेज सार्वजनिक गरेका होटलको मूल्य पनि आधा घटेको छ।’

उनका अनुुसार पोखराका अधिकांश ठूला र चल्तीका सबै होटलले सस्तो प्याकेज निकालेका छन्। ‘अहिलेको अवस्था सहज नहुन्जेल हामी आन्तरिक पाहुनालाई छुट दिँदैछौं। होटलको आफ्नो मूल्यमा पाहुनाले छुट पाउनेछन्,’ उनले भने, ‘यो बेला पाहुनासँग मूल्य कसेर लिने अवस्था छैन। पाहुनालाई तान्नका लागि छुटको उपाय लगाएका हौं।’  व्यवसायीले पाहुनासँग लिएको आधा मूल्यले होटलका कोठाको मूल्य मात्र उठ्ने अध्यक्ष तुलाचनले बताए। ‘आधा छुटको रकमले कोठाको मूल्य मात्र उठ्छ।

व्यवसायीले कमाउने अवस्था रहन्न, मात्र व्यवसाय चलायमान बनाउन खोजिएको हो,’ उनले भने, ‘संकटमा व्यवसाय धान्न सकियो भने भविश्यमा कमाई हुने अपेक्षा छ।’ अध्यक्ष तुलाचनका अनुसार पोखरामा एकरातका लागि प्रतिकोठाको मूल्य सबैभन्दा कम १२ सय रूपैयाँ छ। सबैभन्दा बढी तारे होटलको कोठा आन्तरिक पाहुनाले अरूबेला प्रतिरात १० हजार रूपैयाँसम्म तिर्नुपर्छ। तर, कोरोनाको यो महामारीमा पाहुनाले सबैतिर आधा छुट पाउने उनले बताए।

पोखरामा शुक्रबार र शनिबार आन्तरिक पाहुना बढी आउने व्यवसायीको भनाइ छ। त्यसबाहेक अरू सार्वजनिक बिदाको अवसर पारेर पनि पाहुना घुम्न आउँछन्। कोरोना महामारी चलिरहँदा यतिबेला केही आकारमा आन्तरिक पाहुना पोखरामा देखिन थालेका छन्। त्यसले व्यवसायीलाई केही आशावादी तुल्याएको अध्यक्ष तुलाचनको भनाइ छ। पोखरामा करिब सात सय होटल सञ्चालनमा छन्।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६