कपिलवस्तु, २ पुस । आर्थिक अवस्थाका कारण ९ कक्षा भर्ना हुन नपाएकी जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ७ सोमडिहकी छात्रा सिमा रैदासका लागी सहयोग जुट्न थालेको छ । आर्थिक अभावले बालिकाले पढ्न नपाएको समाचार प्रकाशनमा आएका थिए। समाचार प्रकाशन भए पछि नेपाल तरुण दल र नेबिसंघले बालिकालाई घरमै पुगी सहयोग गरेको छ । नेपाल तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी र नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको अगुवाईमा सिमालाई सहयोग गरिएको हो । सिमालाई परिवारले भर्ना र मासिक शुल्क व्यवस्थापन र साईकल किन्नको जोहो गर्न नसक्दा पढाई रोक्नु परेको थियो ।
गाँउको कोपवाको बिद्यालयमा ८ पास गरेकि उनले आर्थिक अभावले बैदौलिको अनिरुद्ध पब्लिक बिद्यालयमा ९ कक्षा भर्ना हुन पाएकी थिईनन । बुटवल टुडे दैनिक सहितका पत्रिका र अनलाईनको समाचारका आधारमा नेबिसंघ क्षेत्रीय सभापति पोख्रेल, तरुण दलका अध्यक्ष ठकुरी, तरुण दल क्षेत्रिय अध्यक्ष तिलक थापा, सदस्यहरु राजन आले र लक्ष्मी कुवर सहयोगका सामाग्री सहित सिमाको घरमै पुगे ।काँग्रेसका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, महासमिती सदस्य परमात्मा पाठक, नेबिसंघ जिल्ला अध्यक्ष राकेश पाण्डेय, तरुण दल क्षेत्रिय अध्यक्ष राजेश उपाध्याय, वडा नम्बर ७ का अध्यक्ष चन्द्र प्रकाश दुबे, वडा सदस्य सुनिता चमार र सोही वडाका बालमैत्री कार्यक्रमका बाल सहजकर्ता परुवालाल यादवको उपस्थितीमा सिमा, उनका बाबू रामसुभग र आमा नैनमतिलाई साईकल सहितका सामग्री हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण गरिएका सामाग्रीमा साईकल, झोला, ज्याकेट, बिद्यालय ड्रेस, कापी र अन्य शैक्षिक सामाग्री छन । आफुले बिद्यालय जानका लागी सहयोग पाएकोमा खुसी लागेको सिमाले बताईन । बिद्यालयको शिक्षालाई निरन्तरता दिन अब थप सहज भएको उनको बुझाई थियो । तरुण दल र नेबिसंघले सामाजिक कार्यहरु गर्दै आएको स्मरण गराउदै बालिकाले आर्थिक अभावले पढ्न नपाएको समाचार प्रकाशनमा आए पछि आफुहरुले उनलाई सहयोग दिन आई पुगेको नेबिसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताए । “हामी भविष्यमा पनि यस्तै सामाजिक कार्य गर्न तत्पर रहने छौ ।” उनले भने ।
समाचारका आधारमा आफुहरुले बालिकाको शिक्षा निरन्तर रहोस भन्ने उदेश्यले सहयोग गर्न आई पुगेको तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले स्पष्ट पारे । “दुखः मा परेकाहरुको लागी सानो सहयोगले पनि ठुलो महत्व राख्छ । हामीले जिल्लाभर यस्तै सहयोगका कार्य जारी राख्ने छौ ।” अध्यक्ष ठकुरीले भने ।
प्रतिक्रिया