लुम्बिनी

लुम्बिनी प्रदेश : नेकपाको आन्तरिक कलहले प्रदेश सरकारमा कस्तो असर पर्ला ?



बुटवल ६ पुष ।प्रतिनिधि सभा विघटनपछि विभाजनको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक कलहको असर अब प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । लुम्बिनी प्रदेशमा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल नेतृत्वमा नेकपाको दुई तिहाइ बहुमतको सरकार छ ।तर केन्द्रमा देखिएको कलह र संभावित विभाजनपछि अब पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसदमध्ये पूर्व एमाले र माओवादीबीचको चुनावी गठवन्धनबाट ६१ जना निर्वाचित भएका थिए । तीमध्ये पूर्व एमालेबाट ४१ जना र माओवादीबाट २० जना छन् । सरकारलाई बहुमत पुग्न ४४ सांसद आवश्यक पर्छ । पूर्व माओवादीले मात्रै साथ छोड्दा पनि सरकार अल्पमतमा पर्ने अवस्था लुम्बिनीमा छ ।

यद्यपि पूर्व माओवादीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका आन्तरिक मामिला तथा कानून मन्त्री कूल बहादुर केसी ‘सोनाम’ सरकारको पक्षमा उभिन सक्ने देखिएको छ । सभामुख पूर्णबहादुर घर्ती पनि बादल पक्षका हुन् तर उनको मताधिकार हुँदैन । प्रमुख विपक्षी नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका एकजना सांसद लुम्बिनी प्रदेश सभामा छन् ।पूर्व एमालेभित्र माधव नेपाल पक्षभन्दा प्रधानमन्त्री केपी ओली पक्षका सांसद धेरै भए पनि पार्टी विभाजन हुँदाको अवस्थामा सरकार अल्पमतमा पर्ने निश्चित भएको नेकपा सांसद कमलराज श्रेष्ठ बताउँछन् । ‘पूर्व एमालेको कुरा गर्दा ओली पक्षका सांसद अलि बढी छन् तर अब बदलिएको परिस्थितिमा प्रदेश सरकार अल्पमतमा पर्छ,’ सांसद श्रेष्ठले भने, ‘धेरै साथीहरु पर्ख र हेरको अवस्थामा छन्, सरकारको भावी कदमले पनि संख्या तलमाथि बन्न सक्छ ।’

तर प्रधानमन्त्री ओली पक्षका सांसद एवं नेकपा प्रमुख सचेतक भूमिश्वर ढकाल भने आफूहरुको पक्षमै बहुमत सांसद रहने र सरकार नढल्ने दावी गर्छन् । ‘माथि (केन्द्र) को पिक्चरले धेरै कुरा तय गर्छ, तर यहाँको सरकार ढल्दैन, प्रचण्ड–माधव पक्षमा जाने संख्या देखिँदैन,’ ढकालको दावी छ ।’माधव नेपाल पक्षमा पहिल्यैदेखि खुलेर लागेका सांसद विष्णु पन्थी भने माधव नेपाल पक्षमा १५ जनाको हाराहारीमा सांसदहरु रहेको दावी गर्छन् । ‘अहिले साथीहरु खुल्नु नभएको मात्र हो, तर निर्णायक अवस्थामा पूर्वमाओवादीबाहेक १५ जना सांसद हाम्रो पक्षमा आउनुुहुन्छ ।

’शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने भएमा प्रचण्ड–माधव पक्ष, कांग्रेस र जनता समाजवादी मिलेर सरकार बनाउन सक्ने सम्भावना रहने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान बताउँछन् । ‘नयाँ सरकारका लागि समीकरण बन्न सक्छ, नेकपाभित्रको भावी कदमलाई हेरेर कांग्रेसले रणनीति बनाउँछ,’ खानले भने ।उता ओली पक्षले शंकर पोखरेलको सरकार टिकाउन कांग्रेससँग हात फैलाउन सक्ने पनि उत्तिकै संभावना छ । तर प्रदेश राजधानी दाङ तोकिएकोमा मुख्यमन्त्री पोखरेलसँग रुष्ट रहेको कांग्रेसले ओली पक्षसँगभन्दा प्रचण्ड–माधव पक्षसँग मिलेर सरकार बनाउने सम्भावना बलियो रहेको प्रमुख सचेतक खान बताउँछन् । अनलाइन खबरबाट

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६