काठमाडौं, ९ पुस । प्रतिनिधिसभाको विघटन गर्ने सरकारको कदमविरुद्ध विरोध संघर्षका कार्यक्रम गर्ने या नगर्ने भन्नेमा कांग्रेसभित्र मतभेद सुरु भएको छ ।सरकारले प्रतिनिधिसभाको विघटन गर्ने सिफारिस गरे लगत्तै असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी अधिनायकवादउन्मुख कदमको संज्ञा दिएको कांग्रेसले अहिलेसम्म त्यसका विरुद्ध कुनै गतिविधि गरेको छैन ।
सोमबार कांग्रेसले बोलाएको नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टीसहितको बैठकमा दलहरूले केन्द्रीय समितिले रणनीति बनाएर संयुक्त विरोध गर्ने निर्णय गरेका थिए । संविधानमाथि फरक मत राख्ने जसपा पाँच दिने विरोध कार्यक्रमसहित बुधबारबाट सडकमा ओर्लिएको छ, तर आफ्नो नेतृत्वमा संविधान जारी भएको दाबी गर्ने प्रमुख प्रतिपक्षी दल कांग्रेस भने संविधानमाथि गम्भीर आक्रमण भएको ठहर गरेर पनि विरोध गर्ने कि नगर्ने भन्ने विवादमा रुमल्लिएको छ ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक हो भन्नेमा कांग्रेस नेता एकमत छन्न् । तर, त्यसको विरुद्धमा सडकमै ओर्लिएर आन्दोलन तताउन सभापति शेरबहादुर देउवा तयार देखिएका छैनन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू भने सडक संघर्षको पक्षमा छन् ।मंगलबारै विरोध कार्यक्रमको तालिका बनाउनुपर्ने माग राखेका वरिष्ठ नेता पौडेलले बुधबार पनि त्यही दोहोर्याएका छन् । तर, देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिएर मात्रै विरोधको कार्यक्रम ल्याउनुपर्ने मत राखेका छन् । त्यहीकारण बुधबारको बैठकमा नजिकै बसेका देउवा–पौडेलबीच घोचपेच भइरह्यो ।
बैठकको सुरुदेखि नै अरू नेतालाई बोल्न दिए पनि बीचबीचमा सभापति देउवाले आफ्नो भनाइ राख्थे, लगत्तै वरिष्ठ नेता पौडेलले त्यसको प्रतिकार गरिहाल्थे । बुधबार देउवा–पौडेलको घोचपेचलाई लिएर दुई पक्षका अरू नेताहरूका बीचमा समेत चर्काचर्की भएको थियो ।सभापति देउवाले केन्द्रीय सदस्य बलबहादुर केसीलाई बोल्न पालो दिँदा वरिष्ठ नेता पौडेल बैठक कक्ष बाहिर थिए । केसीले पौडेल नआई बोल्दिनँ भनेपछि बैठक कक्षमा केहीबेर हँसिमजाक चलेको थियो । पौडेल आएपछि केसीले सम्बोधन सुरु गरे, तर उनले बोल्दै गर्दा देउवा र पौडेलबीच सवाल–जवाफ भइरह्यो ।
‘सडक संघर्षमा जाऔँ भन्नु गलत होइन, तर चुनावमा जानै हुँदैन नभनौँ, म पनि तपाईंकै मान्छे हुँ,’ पौडेलप्रति संकेत गर्दै केसीले भनेका थिए । त्यसपछि ठूलो स्वरमा पौडेलले केसीलाई जवाफ फर्काए, ‘होइन मलाई मात्रै किन औँल्याउनुहुन्छ रु यो त संविधान र लोकतन्त्रमाथि भएको आक्रमणको कुरा हो, त्यसैले पहिले सडकबाट विरोध गर्नुपर्छ ।’केसी र पौडेलबीच सवाल–जवाफ चलेपछि देउवाले पौडेललाई ‘तपाईं नबोल्नुस् न, उसलाई बोल्न दिएको, तपाईं किन बोलेको’ भन्दै चर्को स्वरमा भनेका थिए ।
प्रतिक्रिया