काठमाडौँ ९ पुष । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ। एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बिहीबारको केन्द्रीय कमिटी बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा पाण्डेलाई महासचिव नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ। उक्त समूहको बैठक दिउँसो १ बजे राजधानीमा बस्दैछ। महासचिवका लागि भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि चर्चामा थियो।
उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले महासचिवमा भीम रावलको नाम अघि सारेका थिए भने अर्का अध्यक्ष प्रचण्डले भने वर्षमान पुन र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउन चाहेका थिए। नेकपा एक हुँदा पहिलो वरियताका बरिष्ठ नेता रहेका झलनाथ खनालले भने पाण्डेलाई महासचिव बनाउन चाहेका छन्।पार्टी विभाजनमा नेता खनालले त्याग गरेकाले उनले भनेको व्यक्ति नै महासचिव हुन लागेको एक नेताले बताए।उहाँले आफूभन्दा पछिल्लो वरियतामा रहेका नेपाललाई अध्यक्ष मान्नुभएको छ। महासचिवमा उहाँले भनेको व्यक्ति हुनु स्वभाविक हो,’ ती नेताले भने।यसअघि प्रचण्ड-नेपाल समूहले मंगलबार केन्द्रीय कमिटी बैठक राखेर ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।बुधबार बसेको उनीहरूको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नयाँ नेता बनाएको छ।








प्रतिक्रिया