काठमाण्डौ १४ पुस ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज (मङ्गलबार) प्रतिनिधि सभा विघटनविरुद्ध काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा विरोध प्रदर्शन गर्दैछ ।प्रदर्शनका लागि पार्टीका शीर्ष नेता खटिएका प्रचण्ड–नेपाल समूहले जनाएको छ । यो समूहले काठमाण्डौको प्रदर्शनी मार्गमा बिहान ११ बजेपछि सभा गर्ने जनाएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार पाँच सय एक सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।सरकारले गएको ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शन गरिरहेको छ । हिजो (सोमबार)नेपाली कांग्रेसले पनि देशभर विरोध प्रदर्शन गरेको थियो ।
यसैबीच नेकपाको प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनका लागि सडकको बीच भागमा नै मञ्च बनाएपछि आज(मङ्गलबार) बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।जुनसुकै आन्दोलनका लागि पनि केन्द्रबिन्दु बन्दा प्रदर्शनी मार्गको बाटो प्रभावित हुँदै आएको छ ।
यस्तै, प्रतिनिधि सभा भङ्ग भएसँगै भइरहेको विरोध प्रदर्शनका कारण उपत्यकाको सडक अस्तव्यस्त बन्न थालेको छ । हिजो (सोमबार)कांग्रेसको प्रदर्शनका कारण उपत्यकाका धेरै ठाउँमा जाम बढेको थियो । आज (मङ्गलबार)पनि कार्यालय समय र दिउँसोको समयमा चाप बढ्न सक्ने भन्दै कामका लागि घरबाट निस्कँदा केही समय अगाडि नै निस्कन ट्राफिक प्रहरीको सुझाव छ ।








प्रतिक्रिया