गुल्मी १६ पुस । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार खर्च तिर्न नसकेर तीन दिनदेखि अलपत्र बालकको उद्धारमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मानै लागेकी छन् । रेसुंगा नगरपालिका २ का १६ बर्षीय बालक सुनिल विक अस्पतालमा अलपत्र छन् । उनी ०७७ पुस ३ गते अटो दुर्घटनामा परेर गम्भीर घाइते थिए ।
ती बालकलाई उद्धार गर्न शर्माको सक्रियतामा बुधबार एकैछिनमा एक लाख १२ हजार एक सय ४० आर्थिक सहयोग संकलन भएको छ । बालक अलपत्र परेको खबर पाउने बित्तिकै प्रमुख जिल्ला अधिकारी शर्माले अस्पताल र पाल्पा प्रशासनसंग समन्वय गरेकी थिइन् । तर, अनिवार्य रुपमा पैसा बुझाउने स्थिती आएपछि सहयोग संकलनको अभियान सुरु गरिएको शर्माले बताइन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा संचालन गरिएको सहयोग संकलन अभियानमा गुल्मी उद्योग बाणिज्यसंघबाट २० हजार, निर्माण व्यावसायी संघबाट १० हजार, जिल्ला प्रशासन कार्यालयका कर्मचारीबाट ११ हजार ५ सय ५०, सुनिल समिर निर्माण सेवाबाट १० हजार र गुल्मी अस्पतालका कर्मचारीबाट ११ हजार ८ सय १५ सहयोग प्रदान भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण भण्डारीले जानकारी दिए ।
त्यस्तै स्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, मदन भण्डारी राजमार्ग, जिल्ला समन्वय समिति लगायतका कार्यालय र विभिन्न व्यक्तिहरुले पनि सहयोग गरेका छन् । संकलन भएको रकम प्रमुख जिल्ला अधिकारी शर्माले अस्पतालमा अलपत्र सुनिलकी आमा सुन्तली विकलाई प्रदान गरेकी छन् । उनले आफैले ४ हजार सहयोग गरेर अभियानको सुरुवाँत गरेकी थिइन् । ‘गुल्मी आउने बित्तिकै विपन्न बालक अस्पतालमा अलपत्र परेपछि सवैलाई सहयोगको याचना गर्नुप¥यो, आज सवैले दिल खोलेरै सहयोग गर्नुभयो,’उनले भनिन,‘बाबुको उद्धारमा पाएको सहयोगको प्रसंसा गर्दछु ।’ जिल्ला प्रशासन कार्यालयमा सहयोग संकलन जारी भएकाले सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई स्वागत गर्ने शर्माले बताइन् ।
प्रतिक्रिया