रुपन्देही १९ पुस । नेकपाका महासचिव विष्णु पौडेलले नेकपामाथि पार्टी भित्रैबाट एम्वुस थाप्ने काम भएको बताएका छन् ।बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पौडेलले भने–‘नेकपामाथि धारिलो खड्ग प्रहार गर्ने काम भएको छ । कुनै बाहिरका व्यक्तिले होइन, पार्टीकै मानिसहरुले, पार्टीकै अध्यक्षले पार्टीको शिरमा खड्ग प्रहार गरेका छन् ।’
पदको लोभमा पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सहमती विपरित सरकारको सफल रुपमा नेतृत्व गरेका प्रधानमन्त्री ओलीलाई असहयोग गरेका कारण प्रतिनिधि सभा विघटनको स्थिती आएको नेता पौडेलले बताए । ‘राजनीतिक घटनाक्रमलाई एक÷एक गरेर हेर्नेहो भने नेपालले केपी ओलीको सरकारको तीन बर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हासिल भएको छ,’ उनले भने–‘पार्टीबाट असयोगहुँदा त सरकारले यस्तो उपलब्धी हासिल गरेको थियो भने पार्टीको सबै हैसियतलाई सदुपयोग गर्न सकेको भए के हुन्थ्यो होला अनुमान गर्न सक्छौं ।’
पदीय लोभका कारण प्रचण्डले पार्टीका केही महत्वकांक्षा बोकेका नेताहरुलाई हातमा लिएर प्रधानमन्त्री विरुद्ध लागेको नेता पौडेलले आरोप लगाए । ‘प्रधानमन्त्री र अध्यक्ष पदको तलतल लागेर प्रचण्डले बाध्यतावशः सहमती गरेपनि त्यसको मसी सुक्न नपाउँदैं उहाँले प्रधानमन्त्री विरुद्ध लागिहाल्नुहुन्छ ।’ उनले भने–‘ आजको समस्या सत्ता र शक्तिको लागि प्रकट भएका महत्वकांक्षले सिर्जना भएको समस्या हो । कुनै निती वा बैचारिक समस्या होइन ।’ नेता पौडेलले प्रधानमन्त्रिविरुद्ध प्रस्तुत गरेको ‘आरोप पत्र’ नै पार्टी विभाजनको ‘आधार पत्र’ भएको उनको कथन थियो ।
प्रतिक्रिया