कपिलवस्तु २० पुस । कपिलवस्तुवाट काठमाडौ जाँदै गरेको कारवाट नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए। “उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ”, प्रवक्ता विष्टले भने। उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ।
टोखाबाट चरिबाघको छाला बरामद:
प्रहरीले काठमाडौँको टोखाबाट चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले टोखा नगरपालिका–७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार)सहित ताप्लेजुङ फुङलिङका ३१ वर्षीय कमलप्रसाद सुनुवारलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संरक्षित वन्यजन्तु चरिबाघको छाला बिक्रीवितरणका लागि झोलामा बोकेर हिँडिरहेको अवस्थामा सुनुवारलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ व्यक्तिसँग प्रहरीले दुई थान छालासमेत बरामद गरेको छ। पक्राउ परेका सुनुवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको ब्यूरोले जनाएको छ। रासस
प्रतिक्रिया