बर्दिया २२ पुस । फुट्न लागेको नेपाल कम्युनिस्ट पार्टीको असर क्याम्पसमा पनि देखिन थालेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँमा रहेको मनुषा टीकासिंह थापा बहुमुखी क्याम्पस संचालक समितिका सदस्यहरूले चुनावी साधारण सभाको माग गर्दै सामूहिक राजीनामा दिएका छन्।तत्कालीन नेकपा एमाले र माओवादी गठबन्धनबाट क्याम्पस सञ्चालन समिति गठन भएको थियो। नेकपा केन्द्रको फुटको असर जिल्लास्तरका कमिटीमा प्रस्टैसँग देखिए पनि शैक्षिक क्षेत्रमा पनि यसको असर देखिएको हो।
क्याम्पस सञ्चालक समितिमा आबद्ध आफूहरुको पदावधि सकिँदासमेत चुनावी साधारण सभा आयोजना नगरेको भन्दै ८ जना सदस्यले सामूहिक राजीनामाको घोषणा गरेका हुन्। क्याम्पस प्रमुखलाई सम्बोधन गर्दै दिइएको संयुक्त राजीनामा पत्रमा क्याम्पस संचालक समितिको म्याद समाप्त भइसकेकाले तत्काल साधारणसभा गर्न अध्यक्षसँग पटकपटक कुरा गर्दा पनि अध्यक्षले वेवास्ता गरि अवैधानिक संचालक समितिले कार्य गर्दै आइरहेको जसले गर्दा समिति र क्याम्पसको छवि समुदायमा धमिलिएको आरोप लगाइएको छ।
राजीनामा दिनेमध्ये चित्रप्रसाद खनाल, दुर्गाप्रसाद जैसी, खगेन्द्रप्रसाद उपाध्याय, हरिराम थारु, बुधराम थारू, मनकुमारी सुनार, धर्मराज अधिकारी, तथा शिवनारायण थारू रहेका तिनैमध्येका जैसीले जानकारी दिए। १ महिनाभित्रै साधारणसभा आयोजना गरेर नयाँ सञ्चालक समिति गठन गरिने जनाइएको छ।
प्रतिक्रिया